८ मंसिर २०८१, शनिबार 1732385845
Banner

माधवबारे मदन–मनमोहन माथापच्ची

यो हप्ता मदन जयन्ती । मदन जयन्तीको अवसर पारेर नेपालसम्बन्धी बहस मञ्चन हुने भएकोले हल खचाखच भरिएको छ । दर्शक दीर्घामा सबैका आकर्षण थिए—कार्ल मार्क्स, एंगेल्स् । उनीहरु स्वर्गको थिएटरको दर्शक दीर्घाको सबभन्दा अग्रपङ्क्तिमा उत्सुकतापूर्वक सम्बाद सुन्न बसेका छन् । सदाझैं कपाल पछाडि कोरेर चिनिया औपचारिक पोसाकमा माओ पनि आईपुग्छन् । साम्राज्यवादको वर्तमान विश्व अवस्थाबारे अन्तै प्रवचन दिनु परेकोले यो सभामा लेनिन भने उपस्थित छैनन् ।

मनमोहन अधिकारी र मदन भण्डारीबीच नेपालको विषयमा बहस भएकाले सबैको चासो उच्च हुनु स्वभाविक जस्तो लाग्छ । सदाझैं सेतो कपालमाथि ढाका टोपी र औपचारिक पोसाकमा मनमोहन अधिकारी देब्रेतिरको ढोकाबाट र भादगाउँले टोपी, दौरा सुरुवाल लगाएर मदन भण्डारी दाहिनेतिरको ढोकाबाट एकैपटक प्रवेश गर्छन् । हलमा उपस्थित सबैलाई नेपाली शैलीमा नमस्कार गर्छन् । दुबै जना हाँस्दै सामाजिक दुरी कायम गरी फराकिलो स्टेजमा राखिएका कुर्सीमा बस्छन् । बहस नेपाली राजनीति र खास गरी बाम राजनीतिमा केन्द्रित हुन्छ ।

मनमोहनः मदन कमरेड, सर्वप्रथम तपाईलाई जन्मदिनको शुभकामना (दर्शक दिर्घामा परर्र ताली बज्छ) । अब हाम्रो मन्थन शुरु गरौं । कार्ल मार्क्स र फेडेरिक एङ्गेल्स् यही हुनुहुन्छ । उहाँहरुद्वारा मानव जगतका लागि प्रतिपादन भएको मार्क्सवादी सिद्धान्त हरेक देशको विशिष्ट परिस्थितिमा लागु गर्ने क्रममा (माओतिर फर्केर) चीनमा नौलो जनवादी कार्यक्रमको निर्माण भएको तपाईंलाई थाहै छ । कार्ल मार्क्सले सर्बहारा बर्गको अधिनायकत्व कायम गरेर समाजवाद हुदै साम्यवादसम्म पुग्न सकिन्छ भन्नुभएको थियो (मार्क्सले दाह्री मुसारे) । तर त्यतिवेला नेपाल भर्खर एकीकरणको प्रक्रियाबाट गुज्रदैं थियो । शक्तिशाली सामन्ती सत्ताको शुरुवात हुदै थियो । रुसमा समाजवादी क्रान्ति,चीनमा मजदुर र किसानको संयुक्त अधिनायकत्वसहितको नौलो जनवादी क्रान्ति,अरू देशमा क्नान्ति गर्दै नेपालमा यो विचार आइपुग्न झण्डै सय बर्ष लाग्यो । पुष्पलालको प्रयासले

मदनः (विचैमा) कमरेड मनमोहन,मेरो जन्मदिनको शुभकामना दिनुहुने कमरेडलगायत सबैमा धन्यवाद । अब म आफ्नो कुरा शुरू गर्छु । अक्टुबर क्रान्ति र चिनिया क्रान्तिको प्रभाव संसार भर नै पर्यो । तर नेपालमा सबभन्दा बढी प्रभाव चिनियाँ नौलो जनवादी क्रान्तिको पर्यो । कमरेड माओ यहीं हुनुहन्छ,उहाँको विचार, उद्धरण र फोटो भएको रातो किताव पढेर कम्युनिष्ट हुने लहरै चल्यो नेपालमा । म पनि निकै प्रभावित थिएँ । चीनमा वहाँहरूले (माओतिर फर्केर) मार्क्सवादको सिर्जनात्मक प्रयोग गर्ने क्रममा कुनै देश अर्ध सामन्ती र अर्ध औपनिवेशिक अवस्थामा रहेको बेला कस्तो राज्य सत्ता कायम गरिएमा देश पुजीबाद वा पूजीबादबाट साम्राज्यबाद तर्फ जानुको सट्टा समाजबाद तर्फ डोहोर्याउन सकिन्छ भन्ने विचार अघि सार्नुभयो । त्यो बिचार चीनमा त सफलतापूर्वक लागू भयो तर त्यही रुपमा अन्यत्र कहीं लागू भएन । चीनमा नौलो जनवादी क्रान्ति सम्पन्न भए लगत्तै कमरेड पुष्पलालको नेतृत्वमा गठन भएको नेपाल कम्युनिष्ट पार्टीले नेपाल पनि चीन जस्तै अर्ध औपनिवेशिक र अर्ध सामन्ती अवस्थामा रहेको र यहाँ नौलो जनबादी क्रान्ति आवश्यक भएको निष्कर्ष निकालेको थियो । र, सोही बमोजिमको कार्यनीति तय गरेको थियो । झापा विद्रोह हुदै पार्टी बनेको हाम्रो पार्टी नेकपा (माले)ले झण्डै एक दशक नौलो जनबाद प्राप्तिका लागि सशस्त्र संघर्ष बाटो तय गरेको थियो ।

तर, हामी निरन्तर बहस गर्दै आयौं । त्यही सिलसिलामा कमरेडले नेतृत्व गर्नुभएको नेकपा –मार्क्सवादी र मैले नेतृत्व गरेको नेकपा (माले)बीच एकता गरियो । नेपालमा चिनिया क्रान्तिको मोडल हुबहु नेपालमा लागू हुन सक्छ कि सक्दैन भन्नेमा लामो बहस चल्यो । नब्बेको दशकको अन्तराष्टिय परिस्थिति, देशको धरातलीय यथार्थ र जनताको चेतनामा आएको परिवर्तनलाई समेत मध्यनजर राखेर मेरो अगुवाईमा हाम्रो पार्टी नेकपा (एमाले)ले जनताको बहुदलीय जनवादलाई आफ्नो पार्टीको कार्यक्रमको रुपमा अगाडि सारेको थियो ।

मनमोहनः (मार्क्स एङ्गेल्सतिर फर्कन्छन् र मदनतिर फर्कन्छन्) म अध्यक्ष र तपाईं महासचिव निर्वाचित भएको एमालेको पाचौं महाधिवेशन अझै झलझली सम्झना भईरहेको छ । म त यो विषयमा जानकार नै छु, तर यो भारी सभालाई हामीले तय गरेको विचार जनताको बहुदलीय जनवादबारे अलि प्रष्ट पार्नुहोस् न ।

मदनः हाम्रो सुविचारित निष्कर्ष के हो भने संविधानको परिभाषाभित्र राज्य र त्यसका राजकीय निकायहरु सम्पूर्ण जनताको चासो र सरोकारका विषय हुन् । त्यसमा एउटामात्र राजनीतिक पार्टीको एकाधिकार हुन सक्दैन । अझ राज्यको बल प्रयोग गरेर एउटामात्र पार्टीको एकाधिकार कायम गर्न खोज्नु अत्यन्त गैरजनवादी कुरा हो । वर्गीय विविधता रहेको समाजमा अनेक राजनीतिक पार्टीहरु स्वभाविक रुपमा हुन्छन् । नागरिकहरुको मौलिक अधिकारमा बन्देज नगर्ने हो भने स्वभाविक रुपमा राजनीतिक चिन्तनमा विविधता पैदा हुन सक्छन् । अझ कम्युनिष्ट पार्टी सर्वहारा—श्रमजीवी वर्गको पार्टी हो र यो सम्पूर्ण वर्गको पार्टी हुन सक्दैन । यो माक्र्सवादी—लेनीवादी विचार प्रणालीलाई मार्गदर्शक मान्ने पार्टी हो र सर्वहारा—श्रमजीवी वर्गभित्र पनि अन्य विचार प्रणालीप्रति विश्वास गर्ने व्यक्ति हुन सक्छन् वा रणनीति, कार्यनीतिमा भिन्न मतावलम्बी हुन सक्छन् । यस्तो स्थितिमा एउटामात्र पार्टीको एकछत्र अधिकार संवैधानिक रुपमा र राज्यको बलसमेत प्रयोग गरेर कायम गर्न खोज्नु एकप्रकारको निरङ्कुशता र तानाशाही हो । त्यसकारण हामीले राजनीतिमा जनताको निर्णायक भूमिका स्थापित गर्न बहुदलीय प्रतिस्पर्धाको प्रणाली कायम गर्न चाहेको हो । जनादेश प्राप्त पार्टी र व्यक्तिहरुले राजकीय अधिकार प्रयोग गरी चलाउनु पर्छ भन्ने मेरो निष्कर्ष हो ।

(आफ्नो जीवनमा प्रयोग नभएर हुन सक्छ, बहुदलीय प्रतिस्पर्धा, जनादेशजस्ता शब्दावलीलाई माओले त्यति मन पराएकोजस्तो देखिएन । बरु मार्क्स र एङ्गेल्सचाहिँ मुखामुख पछि “परिस्थिति अनुसार ठीकै हो” भन्ने भाव प्रकट गर्छन् । )
मनमोहनः जननेता कमरेड मदन, दासढुङ्गाको बाटो हुँदै रहस्यमय तरिकाले तपाईं यता पठाइनु भएपछि भएको मध्यावधि निर्वाचनमा तपाईंले प्रतिपादन गरेको जनताको बहुदलीय जनवादको प्रभावले मेरो नेतृत्वमा प्रथम जननिर्वाचित कम्युनिष्ट सरकार बन्यो । दक्षिणपन्थी प्रतिक्रियावादीको गठबन्धनले हामीलाई नौ महिनाभन्दा बढी काम गर्न नदिए पनि त्यो छोटो अवधिमा जनताको हितमा ठूल्ठूला काम गर्यौं । दक्षिणपन्थीहरूले हाम्रो ईतिहासकै लोकपृय सरकार ढाले । त्यही समयमा तपाईंको विचारलाई निस्तेज गर्न कमरेड प्रचण्डलाई कट्टर माओवादी बनाएर नेपाली बाम राजनीतिमा प्रवेश गराईयो । एमालेका तत्कालीन महासचिव कमरेड माधव नेपालले समेट्न नचाहेर र कमरेड बामदेवलाई कसैले उक्साएर ०५४ सालमा हेर्दाहेर्दै एमाले फुट्यो । अहिले कमरेड ओलीविरुद्ध त्यस्तै हर्कत दोहोर्याइदै छ । माधव नेपाललाई मोहरा बनाइ एमाले विभाजन गराएर कसैको स्वार्थ पूरा गर्ने खेल हुदैछ ।

मदनः हो, कमरेड प्रचण्ड हाम्रो विचार निर्माणको यो प्रक्रियासंग सहमत हुनुहुन्थेन । उहाँ अलि चटकी स्वभावको पनि हुनुहुन्थ्यो । हामीलाई उहाँले सारसङ्ग्रहवादी भनेर आरोपित गर्नु हुन्थ्यो । उहाँले त्यही ताका “नेपाली क्रान्तिका समस्या र दृष्टिकोणको प्रश्न”भन्ने एक दश्तावेजमा “नेपाली क्रान्तिको चरित्र सामन्तबाद–साम्राज्यबाद विरोधी अर्थात् नयाँ जनबादी हुन्छ” भन्नु भएको थियो । त्यतिबेलै उहाँ माओवादलाई सैद्धान्तिक बटमलाईन बनाएर कमरेड माओको नेतृत्वमा चीनमा भएजस्तो दीर्घकालीन जनयुद्धको तयारी गर्नुभयो । षणयन्त्रपूर्वक मलाई त्रिशुलीमा खसाईएको २ बर्षपछि जनयुद्ध शुरु भयो उहाँकै नेतृत्वमा । गम्भिर कमजोरीहरूका बाबजुद त्यो विद्रोहले पनि नेपालमा थुप्रै परिवर्तन त ल्यायो,राजतन्त्रजस्तो सामन्तवादी सत्तालाई समूल नष्ट गर्न महत्वपूर्ण भूमिका पनि खेल्यो तर चीनमा भएको जस्तो प्रकारको नयाँ जनवादी क्रान्ति नेपालमा सम्पन्न हुन सकेन । बरु मैले माथि भनेझैं बहुदलीय जनवादी चरित्र बोकेको सत्ता नेपालमा कायम भयो । उग्रपन्थी माओवादी र दक्षिणपन्थी काङ्ग्रेसलाई सहकार्यको वातावरण जनताको बहुदलीय जनवादले नै तयार गर्यो ।

निर्वाचनमा श्रेष्ठता हासिल गरेर सत्ता चलाउने एमालेको नीतिबमोजिम केन्द्रदेखि स्थानीय तहसम्म कम्तिमा पाँचबर्ष सत्ता सञ्चालन गर्न पाएको जनादेश पूरा गर्ने अवस्थामा छन् । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीचको एकता प्रचण्डको दाउपेच र माधव नेपालको महत्वाकाङ्क्षाका कारण भङ्ग भए पनि संविधानको सर्बोच्चता, विधिको शासन,मानवअधिकार एवम् मौलिक हकको प्रत्याभूति, शक्ति पृथकीकरणको सिद्धान्त, बहुलतायुक्त खुला समाज, बहुदलीय प्रतिस्पर्धा, आवधिक निवाचन,जननिर्वाचित प्रतिनिधिहरुद्वारा सरकार सञ्चालन, प्रतिपक्षको संवैधानिक व्यवस्था, स्वतन्त्र न्यायपालिकालगायत आधुनिक लोकतन्त्रका विश्वव्यापी मूल्य—मान्यतामा अडिग एमालेकै वरिपरि देशको राजनीति घुमिरहेको छ । मेरो नेतृत्वमा सूत्रबद्ध गरिएको जनताको बहुदलीय जनवादकै सेरोफेरोमा नेपालको कम्युनिष्ट आन्दोलन अगाडि बढिरहेछ । र,नेपालको कम्युनिष्ट आन्दोलन एमालेको नेतृत्वमा आफ्नै विशिष्ट चरित्र बोकेर समाजवादी यात्रामा लम्किरहेछ ।

अर्कातिर, कमरेड प्रचण्ड अहिले वैचारिक रुपमा टाट पल्टिसक्नुभएको छ । तपाईंले सुन्नु भएकै होला, प्रचण्ड त हिजोआज एमालेभन्दा काङ्ग्रेस सयौं गुणा बामपन्थी हो भन्न थाल्नु भएको छ । गणतन्त्र र राष्ट्रपतिभन्दा त राजा र राजतन्त्र ठीक थियो भन्न थाल्नु भएको छ । कुनै बेला संसदीय व्यवस्था र लोकतन्त्र समाप्त पार्न माओवादी हुनुभएका प्रचण्ड अहिले बडो संसदवादी र लोकतन्त्रवादी हुनुभएको छ । त्यतिमात्र हो र । कुनै बेला मेरो विरासत ओगटेका माधव नेपाल जबजलाई प्रतिगमनकारी विचार देख्न थाल्नु भएको छ, एमाले नै मैले बनाएको भन्ने ध्वाँस दिदै हिड्नु भएको छ । एमाले मिलाउनभन्दा फुटाउन उद्दत हुनुहुन्छ । झापा आन्दोलनका शुरुवातकर्ता के पी शर्मा ओलीलाई वर्ग शत्रुलाई जस्तो र देउबालाई वर्गीय मित्रजस्तो व्यवहार गर्न थाल्नु भएको छ । तर पनि जबजले यी सारा समस्या पर्गेल्दै अगाडि बढ्ने निस्चित छ । नेपालको कम्युनिष्ट आन्दोलनलाई जनताको बहुदलीय जनवादले बचाउने पक्का छ । (मदनको धाराप्रवाह भाषण सुनेर माओ मदनलाई हाँस्तै हेरिरहन्छन् । गड्गडाहट ताली बजिरहन्छ । मार्क्स र एङ्गेल्स् सबभन्दा बढी समय ताली बजाइरहन्छन्)

मनमोहनः चाइने जो एकदम सही हो,एक देशको क्रान्तिको अनुभव अर्को देशमा हुबहु अनुकरण हुन सक्दो रहेनछ भन्ने कुरामा त म शुरुदेखि नै प्रष्ट छु । आजको यो दिग्गज सभामा पनि यही कुरा दोहोर्याउन चाहन्छु । न रुसी क्रान्तिको अनुभव चीनमा हुबहु लागू भयो न चीनको अन्य देशमा । त्यहीकारण चीनको विशिष्ठतामा जन्मिएको नौलो जनवाद हामीहरुले भगिरथ प्रयत्न गर्दा पनि नेपालमा प्रयोग गर्न सकेनौं । नेपालको क्रान्ति नेपालकै विशेषतामा आधारित भएर सन्पन्न भयो । नेपालीहरुलाई जनताको बहुदलीय जनवाद नै चाहियो । फेरि समय यस्तो बलवान रहेछ, यसले सबै कुरामा परिवर्तन ल्याई दिदो रहेछ ।(सुस्केरा हाल्दै मार्क्सतिर फर्केर) आईस्टाइनले “परिवर्तन भन्ने शब्दबाहेक संसारको हरेक चिज परिवर्तशील छ” भन्थे । आखिर त्यही रहेछ । हाम्रो विगतको बुझाईमा संशोधन गर्नु पर्ने भएछ । मार्क्सले “सर्वहारा” को जे परिभाषा गर्नु भो, माओले उहाँको समयमा चिनिया समाजको जसरी वर्ग विश्लेषण गर्नुभो, ती अब अपुग भएजस्तो भईसक्यो । त्यति बेला, व्यक्तिको भूमिमाथिको अधिकार र उद्योग कलकारखाना माथिको स्वामित्वलाई प्रमुख रुपमा हेरिन्थ्यो भने अहिले व्यक्तिको प्रविधि र सीपको पहुँच, जग्गा जमिन र उद्योग धन्दा माथिको उसको स्वामित्व भन्दा प्रभावशाली र मूल्यवान हुँदै आएको छ । गुगल, फेसबुक, ट्वीटर आदिका संचालकहरुले संसारमा पार्ने प्रभाव र कमाउन सक्ने आर्थिक लाभ हजारौं एकड जमिन वा विश्वका ठूल्ठूला उद्योग धन्दाले प्राप्त गर्ने मुनाफा भन्दा कम छैन । उत्पादनका साधन माथिको स्वामित्व नभएको व्यक्तिलाई कार्ल माक्र्सले सर्वहारा भनेर परिभाषा गर्नुभयो तर अहिले उल्लेखित सीप र सूचना भएमा त्यो “सर्वहारा” छोटो अवधिमै विश्वको सबभन्दा धनी मानिस हुन बेर लाग्दैन । विज्ञान र प्रविधिले वर्गीय संरचनामा समेत व्यापक परिवर्तन ल्याईसकेछ । कम्युनिष्टहरूले विगतमा अभ्यास गरेका र गरिरहेका समाजवादका मोडलमा समेत रिभिजिट गर्नु पर्ने भइसकेछ । समाजवादमा उच्चतम जनवादको अभ्यास कसरी संभव बनाउने भन्ने बारेमा बहस आवश्यक भईसकेको देखिन्छ । अहिले ओली सरकारले गरिरहेका कामलाई परम्परागत मार्क्सीय आँखाबाट नभै नयाँ परिस्थिति र सन्दर्भमा हेर्नु पनि त्यत्तिकै आवश्यक छ ।

(मनमोहन पुनः मदनतिर फर्कन्छन्) हाम्रो देशले पनि आर्थिक समृद्धि,सार्वभौमिकता र राष्ट्रियताको सवालमा ठूलो फड्को मारिसकेको छ । देशको नक्सा नै बदलिएको छ, विस्तार भएको छ । विचारमा हाम्रो पार्टी एकदमै सवल र व्यवस्थित छ तर कमरेडले माथि उल्लेख गर्नु भएजस्तै माधव नेपाल र प्रचण्डकै कारणले अहिले देशको राजनीतिचाहिँ सही दिशातर्फ गइरहेको देखिन्न । तपाईंको अनुपस्थितिमा पनि समाज परिवर्तनको लागि अबिराम संघर्ष गरेकी तपाईंकी धर्मपत्नी राष्ट्रपति भएको बेला, तपाईंको वास्तविक वैचारिक उत्तराधिकारी के पी शर्मा ओली पार्टी अध्यक्ष एवं प्रधानमन्त्री भएको बेला र एमाले लगभग बहुमतमा रहेको बेला, पार्टीको सरकारले देशमा तुमुलकारी परिवर्तन ल्याईरहेको बेला कम्तीमा एमाले एक ढिक्का भइदिएको भए हुन्थ्यो, माधवले त्यति बुझिदिए हुन्थ्यो । आफ्नो जीवनको उत्तरार्धमा कलङ्कको टीका नलगाए हुन्थ्यो । एमालेले दिएको एमालेका बरिष्ठ नेता उपाधि देउबालाई दुरुपयोग गर्न दिएर नेपालको कम्युनिष्ट आन्दोलनको रक्षा गर्छु भन्ने उहाँको बहुलठ्ठीपूर्ण तर्कबाट पछि हटेर आफ्नै थान्कामा बसे हुन्थ्यो । लाखौं श्रमजीवी जनताको रगत,पसिनाबाट बनेको एमालेलाई ध्वस्त बनाउन प्रतिक्रियावादीको गोटी नबने हुन्थ्यो । (अनुहारको चमक एक्कासी हराउछ, आँखा रसाउछन्,गला अवरुद्ध हुन्छ । चस्मा आँखामाथि सारेर अगाडि सुनौलो टेबलमा राखिएको न्यापकिनले आँखा पुछ्न थाल्छन् ।) सत्यसंग नलड्ने र असत्यसंग नझुक्ने पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीको अडानले हाम्रो प्यारो देश र हाम्रो प्यारो पार्टी जोगिएला भन्ने आस छ, बस् ।

मदनः औंला ठड्याएर भाषण गर्ने शैलीमा, हो, अहिले नेपालको कम्युनिष्ट आन्दोलनमा चुनौतिहरु चुलिएका छन् । पार्टी एकता गरिसकेर स्थीर सरकारलाई प्रभावकारी बनाउने, तीब्र आर्थिक समृद्धि गर्ने र समाजवादको आधार तयार पार्ने काममा कमरेडहरु लाग्नुहुन्छ भन्ने नै मेरो बुझाई थियो । दक्षिणपन्थी प्रतिक्रियावादी चलखेललाई मिलेर परास्त पार्नुहुन्छ भन्ने लागेको थियो । विचारमा मात्र होईन, समकालीन नेपाली राजनीतिका दिग्गज खेलाडि के पि ओली, माधव र प्रचण्डले यो विषय झन गहिराईमा बुझ्नुभएको छ भन्ने लागेको थियो । तर यो महान प्रक्रियामा कमरेड प्रचण्ड र माधव नेपाल काला भेडा निस्कनुभयो । आश्चार्यजनक रुपले माधव नेपाल एमालेको कुनै अनुनय विनय नसुन्ने तर देउबासंगको गठबन्धन कुनै हालतमा नछोड्ने ठाउँमा पुग्नुभो, दक्षिणपन्थी प्रतिक्रियावादीसंग साँठगाँठमा लाग्नुभयो । सदाबहार क्रान्तिकारीु मोहनविक्रम सिंह पनि त्यतैतिर लुरुलुरु । निःसन्देह यो दुःख लाग्दो घटना हो तर म यो भारी सभामा भन्न चाहन्छु–उहाँहरूलाई नेपाली श्रमजीवी जनताले माफ गर्ने छैनन् । ईतिहासले क्षमा गर्ने छैन ।

(मार्क्सले एङ्गेल्सतिर फर्केर : ब्ल्याक सिप ड्यान्डरस , भनेको सुनियो । विभिन्न देशको कम्युनिष्ट आन्दोलनमा काला भेडाको कमी थिएन र छैन भनेर दर्शक दीर्घा गरिएको खासखुस मञ्चसम्मै सुनियो । खासगरी बाकुनिन,प्लेखानोव, ट्राट्स्की,मार्तोव, बुखारिन र लिन प्याओको चर्चा सुनियो ।)

जहाँसम्म नेपाली समाजवादी क्रान्तिको बाटोको सवाल छ,(एङ्गेल्सतिर फर्केर) उहाँले कुनैबेला “क्रान्तिको बाटो के हुनेछ ?” भन्ने प्रश्नमा “खासगरी, यसले पहिले लोकतान्त्रिक संविधान बनाउनेछ र त्यसैको माध्यमद्वारा सर्वहारा —श्रमजीवी वर्गको प्रभुत्व बढाउदै लग्नेछ ।” भन्ने उत्तर दिनुभएको थियो । नेपालको सन्दर्भमा पनि लागू होला । समाजवाद निर्माणमा पनि यही कुरा लागू हुने पक्का छ । वैचारिक रुपमा सशक्त र मजबुत संगठनका साथ पार्टी अघि बढे ती एकाध काला भेडा जङ्गलमा कतै हराउछन् । र, थप गति लिएर कम्युनिष्ट आन्दोलन अघि बढिरहन्छ । (एङ्गेल्स् बुढी औंला देखाएर मुस्कुराउछन्)

(बहसको समय सकिएको घण्टी बज्छ । सबैको चासो नेपालमै छ । मदनको तर्क सुनेर मार्क्स एङ्गेल्स् लगायत सबै सन्तुष्ट र चकित देखिन्छन् । मदन र मनमोहन उठेर नेपाली हार्दिकता सहितको नमस्कार गर्छन् । पर्दा लाग्छ । ताली बजिरहन्छ ।)