८ मंसिर २०८१, शनिबार 1732353605
Banner

मनसुनजन्य विपदबाट २५ जनाको मृत्यु, ११९ घरमा क्षति

काठमाडौं । यसवर्ष मनसुन सुरू भएयता २५ जनाको मृत्यु भएको छ। बाढी-पहिरोबाट हालसम्म ८३ घरमा क्षति पुगेको छ भने ११९ वटा घरमा आंशिक क्षति भएको विपद् पूर्व तयारी तथा प्रतिकार्य शाखाले जानकारी दिएको छ।

यो २५ गते साँझ ५ बजेसम्मको तथ्यांक हो। जेठ ३१ गतेबाट नेपालमा मनसुन प्रवेश गरेयता बाढी-पहिरोलगायतका प्रकोपबाट २५ जना बेपत्ता छन् भने १८ जना घाइते छन्।

यस वर्षको बाढी पहिरोबाट संखुवासभामा सबैभन्दा बढी क्षति पुगेको छ। त्यहाँ ३ जनाको मृत्यु भएको छ भने १९ जना बेपत्ताको अवस्थामा छन्।

पाँचथरमा ३ जनाको मृत्यु भएको भने ३ जना बेपत्ता छन्। यस्तै ओखलढुंगामा पहिरो जाँदा एकै परिवारका ४ जनाको मृत्यु भएको थियो।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यस वर्ष बाढी-पहिरोबाट १२ लाख ५४ हजार प्रभावित हुने आकलन गरेको छ।

मधेसमा सबैभन्दा बढी अर्थात् ४ लाख ३ हजार १८० र त्यसपछि कोशीमा ३ लाख १ हजार १४३ जनसंख्या प्रभावित हुनसक्ने उसले प्रक्षेपण गरेको छ। बाढी-पहिरोबाट २ लाख ८६ हजार ९९८ घरधुरी प्रभावित हुने पनि उसले औंल्याएको थियो।