१० कार्तिक २०८१, शनिबार 1729981100
Banner

संघीय निजामती सेवा ऐन छिट्टै आउँछ : सामान्य प्रशासनमन्त्री

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले संघीय निजामती सेवा ऐन छिट्टै आउने बताएका छन् ।

बिहीबार राष्ट्रियसभाको बसेको बैठकमा विनियोजन विधेयक, २०८० अन्तर्गत संघीय मामिला तथा सामान्य प्रशासनसम्बन्धी विभिन्न शीर्षकमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिने क्रममा मन्त्री मोदीले यस्तो बताएका हुन् ।

‘संघीय निजामती सेवा ऐन चाँडै नै आउछ । कुनै किसिमको चिन्ता लिन पर्दैन, जसरी पनि ल्याउनेछौँ,’ उनले भने ।

उनले उक्त ऐनमाथि धेरै पटक छलफल भएको भन्दै ऐन आउनेमा विश्वस्त हुन आग्रह गरे ।

मन्त्री मोदीले आगामी साउनदेखि कर्मचारी समायोजनलाई कडाइका साथ लागू गर्ने प्रतिबद्धता व्यक्त गरे ।

‘विकट र अति दुर्गम ठाउँमा कर्मचारीको अभाव छ’, उनले भने, ‘तर सुगममा राज्यले तलब खुवाउन नसक्ने गरी करार र समायोजन भए पनि जाने कर्मचारी अत्यधिक छन् । साउन १ गतेदेखि समायोजनमा अझ कडाइ गरिनेछ ।’

Tags :