७ मंसिर २०८१, शुक्रबार 1732314445
Banner

अति भारी वर्षा : सुनसरी र मोरङ डुबानको उच्च जोखिममा

काठमाडौं । सुनसरी र मोरङमा अति भारी वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आज बिहान ६ बजे सार्वजनिक गरेको सूचना अनुसार पछिल्लो तीन घण्टायता सुनसरीको इटहरी, मोरङको लेटाङ, हरैचा आसपास अति भारी वर्षा भएको छ । थप वर्षा हुने पूर्वानुमानसमेत गरिएको छ ।

त्यसैले बुढीखोला, खेसलिया, सुनसरी खोला, लोहन्द्रा लगायत सुनसरी र मोरङका साना खोलाहरुमा आकस्मिक बाढीका साथै होचा स्थानमा डुबानको उच्च जोखिम रहेको महाशाखाले जनाएको छ ।

त्यसैले आज बिहान ११ बजे सम्म अतिउच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । बाढी र डुबानका कारण सम्भावित जोखिम क्षेत्रका बासिन्दालाई एसएमएस पठाएर सतर्कता अपनाउन भनिएको छ ।

त्यसअघि आज बिहान ५ बजे महाशाखाले सार्वजनिक गरेको सूचनामा मोरङको कानेपोखरी र त्यस आसपासमा पनि ठूलो वर्षा भएको उल्लेख छ ।