८ मंसिर २०८१, शनिबार 1732351106
राजनीति

प्रधानमन्त्री प्रचण्ड र रास्वपाका सचेतक परियारबीच छलफल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियारबीच छलफल भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहान साढे ७ बजे भएको छलफलमा संसद्को भूमिका प्रभावकारी बनाउने विषयमै कुराकानी केन्द्रित रहेको परियारले बताए । छलफलमा संसदीय समितिका सभापति चयनमा ढिलाइ भइरहेको विषयमा परियारले प्रधानमन्त्रीसँग छलफल गरेका थिए ।

‘समितिमा महत्त्वपूर्ण विधेयकमाथि छलफल भइरहेको छ। तर, समितिका सभापति नहुँदा छलफल प्रभावकारी हुन सकेको छैन। यथाशीघ्र चयन प्रक्रिया अघि बढाउनुपर्‍यो भनेर ध्यानाकर्षण पनि गराए,’ उनले भने, ‘जवाफमा प्रधानमन्त्री सकारात्मक रहेको पाएँ।’

त्यस्तै प्रधानमन्त्रीले संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा पनि चासो राखेका थिए। कानुन, न्याय तथा मानव अधिकार समितिले उपसमिति बनाएर त्यसमा छलफल गरिरहेको छ। उपसमितिमा परियार पनि छन्।

‘हामीले राज्य र विद्रोही दुवैतर्फबाट पीडितलाई बोलाएर छलफल गर्‍यौं। विधेयकका अन्तरवस्तुबारे राष्ट्रिय मानवअधिकार आयोग, कानुनविद्, सरोकारवाला, प्रबुद्ध व्यक्तित्वहरूसँग पनि कुराकानी गरेर प्रतिवेदन लेखन भइरहेको जानकारी गराएँ,’ उनले भने, ‘उपसमितिले प्रतिवेदन बनाएर समितिमा बुझाएपछि त्यहाँ पनि छलफल हुन्छ। यसबारे पनि प्रधानमन्त्रीलाई बताएँ।’ संक्रमणकालीन न्यायसम्बन्धी विधेयक यथाशीघ्र टुंग्याउन प्रधानमन्त्री गम्भीर रहेको आफूले पाएको परियारको भनाइ थियो।