११ कार्तिक २०८१, आइतबार 1730045199
Banner

प्रधानन्यायाधीशमा सिफारिस भएका विश्वम्भरप्रसाद श्रेष्ठविरूद्ध उजुरी आह्वान

काठमाडौं । संसदीय सुनुवाई समितिले प्रधानन्यायाधीशमा सिफारिस भएका विश्वम्भरप्रसाद श्रेष्ठविरूद्ध उजुरी आह्वान गरेको छ। बुधबार गोरखापत्रमा सूचना प्रकाशित गर्दै समितिले श्रेष्ठविरूद्ध उजुरी आह्वान गरेको हो।

प्रधानन्यायाधीश पदमा श्रेष्ठलाई नियुक्त गर्न उपयुक्त छैन भन्ने कसैलाई लागेमा मर्यादित भाषामा स्पष्ट आधार र सबुत प्रमाणसहित १० दिनभित्र उजुरी दिन समितिले आग्रह गरेको छ।

त्यस्ता व्यक्तिहरूले सचिवालयको ठेगानामा पत्राचार वा सोझै सिंहदरबारस्थित सचिवालयको कार्यालय पुगी सूचना वा उजुरी दिन सक्नेछन्।

सूचना दिने सूचना दाताले आफ्नो नाम, थर, वतन र फोन नम्बर स्पष्ट रूपमा खुलाउनुपर्ने र निजले चाहेमा सूचना दाताको नाम गोप्य राखिने व्यहोरा समेत समितिले जानकारी गराएको छ।

सतहत्तरै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले यस सूचनालाई जिल्ला प्रशासन कार्यालय लगायत सम्भव भएसम्म अन्य सरकारी कार्यालय तथा सार्वजनिक स्थलहरूमा टाँस्ने व्यवस्था गर्न र प्रस्तावित व्यक्ति नियुक्तिको अनुपयुक्तता सम्बन्धी कुनै सूचना वा उजुरी प्राप्त हुन आएमा यो सूचना प्रथम पटक प्रकाशित भएको मितिले १० (दस) दिनभित्र यस समितिको सचिवालयमा आइपुग्ने गरी पठाइदिन अनुरोध गरेको छ।

संवैधानिक परिषद्ले साउन १८ गते श्रेष्ठलाई प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको थियो।