८ मंसिर २०८१, शनिबार 1732404297
Banner

शिक्षा सामाजिक – आर्थिक रूपान्तरणको बलियो आधार

सामाजिक- आर्थिक रूपान्तरणका लागि हरेक नागरिकको मनोविज्ञान सधैं सकारात्मक र रचनात्मक हुनुपर्छ अनि सबैखाले विभेदहरू हटाउन नागरिकको मनोविज्ञान सहयोगी पनि बन्नुपर्छ। यसका साथै नागरिकमा आलोचनात्मक चेत र विवेकको विकास गर्ने शिक्षा तथा सामाजिक व्यवस्थाको विकास र प्रभावकारी कार्यान्वयन पनि गरिनुपर्छ। त्यसैले शिक्षा मार्फत सामाजिक आर्थिक रूपान्तरण खोजिनु पर्छ, जुन दिगो हुन्छ।

शिक्षाले समाज र व्यक्ति दुवैलाई उनीहरूको वैचारिक ढाँचा, समस्या समाधान गर्ने उपाय र उपकरण अनि जीवन शैलीलाई ठीक आकार दिएर एक विशेष दिशामा अघि बढ्न सहयोग गर्नुपर्छ। यसले त्यसपछि व्यक्तिगत र सामाजिक परिवर्तनमा थप योगदान गर्नेछ। जुन सामाजिक-आर्थिक रूपान्तरणको सर्वोत्तम माध्यम हो। तर नेपालमा शिक्षामा परिवर्तन मार्फत सामाजिक आर्थिक रूपमान्तरण गर्न सकिन्छ भन्ने विचारलाई नागरिकदेखि राजनीतिक, प्रशासनिक, न्यायिक, प्राज्ञिक, सामाजिक र धार्मिक नेतृत्वले अन्तरमनले स्वीकारेर शिक्षा व्यवस्थामा आमूल परिवर्तन गर्ने इच्छाशक्ति देखाउन सकेका छैनन्। त्यसैले त राजनैतिक तथा संवैधानिक व्यवस्थामा आएको परिवर्तनपछि पनि देशको अवस्थामा अपेक्षित परिवर्तन हुन सकेको छैन्।

शिक्षा मार्फत रूपान्तरण खोज्नुको मुख्य कारण यसको दिगोपना कायम राख्नु हो किनभने हिजोको शिक्षा तथा सामाजिक व्यवस्थाले दिग्भ्रमित भएका वयस्कहरूलाई सुधार्नु भन्दा बालबालिकाहरूलाई उनीहरूको अन्तरनिहित सम्भावनाहरूको प्रस्फुटन र प्रयोग गरेर बलियो र स्पष्ट बनाउन सजिलो हुन्छ। त्यसैले नयाँ पुस्तालाई नयाँ शिक्षाबाट प्रशिक्षित र दीक्षित गरिरहनु पर्छ। जसले दिगो विकासको लक्ष्य पूरा गर्न सहयोग गर्छ भन्ने कुरा हामीले बुझ्नुपर्छ। आज त्यही दिग्भ्रमित पुस्ताका कारणले एकातिर राजनीति स्थिर बनेको छैन् भने अर्कातिर देशले स्वभाविक गतिमा अपेक्षित विकास अघि बढाउन सकेको पनि छैन्। किनभने राजनीतिक स्थिरता भन्दा अस्थिरता बढाउन उनीहरूको भूमिका देखियो।

देशको अवस्था बदल्न व्यवस्था बदल्यौं तर बदलिएको व्यवस्थानुसारको शैक्षिक, आर्थिक, प्रशासनिक र न्यायिक प्रणाली बनाउन नसक्दा नागरिकहरूको मनस्थिति देशको परिस्थिति र आवश्यकता बुझ्ने खालको बन्न सकेन। जसले गर्दा उनीहरूले निकट विगतको निर्वाचनमा आफ्नो मताधिकार प्रयोग भ्रमको प्रभावमा परेर गरे। परिणामस्वरूप आज देशको राजनीतिमा कम्फर्टेबलवाद र लोकप्रियतावाद निर्णायक बनेको छ। बत्तिस सिटे दलका नेतालाई प्रधानमन्त्री मान्न हामी बाध्य भएका छौं। जबकी ठूलो दलले सत्ताको नेतृत्व गर्नुपर्थ्यो।

अब त यो विगत भयो। विगतको समीक्षा गरेर मात्रै समय बर्बाद गर्ने होइन। भोलिको नेपाल राम्रो बनाउन सक्रिय र रचनात्मक भएर प्रस्तुत हुने हो। त्यसैले शिक्षा व्यवस्थासँगै आर्थिक, प्रशासनिक र न्यायिक व्यवस्थामा संरचनात्मक परिवर्तन गर्दै आमनागरिकको मनोविज्ञान सकारात्मक र आशावादी बनाउनु पर्छ। हामी औपनिवेशिक मानसिकताबाट मुक्त हुँदै उच्च स्वमभिमानका साथ क्रियाशील हुनुपर्छ र आमनागरिकलाई पनि सोअनुसार प्रशिक्षित र दीक्षित गरिरहनु पर्छ। यसका लागि सबभन्दा पहिला नयाँ शिक्षा व्यवस्थाको विकास गर्नुपर्छ।

नयाँ शिक्षा व्यवस्थाको विकास गर्दा यसको दार्शनिक पक्ष, राष्ट्रिय उद्देश्य, शैक्षिक नीति र कानुन, पाठ्यक्रम र शैक्षिक जनशक्ति विकास गर्ने ढाँचामा पुनारवलोकन गर्नुपर्छ। यथास्थितिमा सुधारले मात्रै शिक्षामा देखिएका समस्याहरूको समाधान सम्भव छैन् किनभने शिक्षा व्यवस्थाले सुधार होइन, परिवरतन नै खोजेको छ। अहिले शैक्षिक नीति र कानुनमा सामान्य सुधार गर्न खोज्दा त विरोध गर्नेहरूले शिक्षा व्यवस्थामा आमूल परिवर्तन गर्न नदिन अनेक व्यवधान खडा गर्ने छन्। त्यसैले यथास्थितिमा क्रमिक सुधार गर्दै नयाँ शिक्षा व्यवस्थाको विकास गर्ने रणनीति अपनाउनु पर्छ। त्यो खालको रणनीति बनाउन प्राज्ञिक वर्गले राजनीतिक तथा प्रशासनिक नेतृत्वलाई सघाउनु पर्छ।

नयाँ शिक्षा व्यवस्थाको विकास गर्दा हामीले आधारभूत र विद्यालय शिक्षा अनि विश्वविद्यालय शिक्षा कस्तो बनाउने भन्ने कुरामा स्पष्ट भएर अघि बढ्नुपर्छ। कुन तहमा कुन भाषालाई मुख्य माध्यम भाषा बनाउने, कुन कुन विषयहरू पढाउने र विद्यार्थीहरूको अन्तरनिहित क्षमताको मूल्यांकन गरेर उनीहरूलाई उच्च शिक्षामा कुन विधा रोज्ने भनेर विद्यालयदेखि नै तयार गर्ने आधार बनाउनु पर्छ। किनभने शिक्षामा पढाउने भन्दा कोचिङ गर्नु ठूलो कुरा हो। कोचिङलाई लिएर टिमोथी ग्याल्वेले लेखेका छन्, “कोचिङले विद्यार्थीहरूमा भएको अन्तरनिहित क्षमतालाई अधिकतम सहजीकरण गर्छ। यसले विद्यार्थीहरूलाई सिकाउनुको सट्टा सिक्न मद्दत गर्दछ।’

शिक्षामार्फत सामाजिक-आर्थिक रूपान्तरण सुनिश्चित गर्न शिक्षा व्यवस्थामा आमूल परिवर्तन गर्नैपर्छ। तर यसका लागि शिक्षा व्यवस्थामा नै आमूल परिवर्तन किन भन्ने प्रश्नको उत्तर हामीलाई थाहा हुनुपर्छ र आमनागरिकलाई पनि बुझाउनु पर्छ। सबैका लागि गुणस्तरीय शिक्षाले नयाँ पुस्तालाई सकारात्मक तरिकाबाट सशक्तिकरण गर्न, दिगो आर्थिक वृद्धि मार्फत असमानता हटाउन र देशमा भाषिक तथा जातीय द्वन्द्व कम गर्दै अघि बढ्न मुख्य उत्प्रेरकको रूपमा काम गर्दछ। यसका साथै नयाँ शिक्षाले पुरानो शिक्षाबाट भ्रमित जनसंख्यालाई भ्रमबाट मुक्त बनाउन अनौपचारिक भूमिका खेल्छ। साथै देशमा अहिले जातीय तथा भाषिक द्वन्द्व सिर्जना गर्नेहरूलाई निरूत्साहित गर्न पनि नयाँ शिक्षा व्यवस्थाले रचनात्मक भूमिका खेल्नेछ। किनभने त्यतिबेलाको समावेसी शिक्षाले भाषिक तथा जातीय विभेद अन्त्य गर्न विद्यार्थीहरूलाई कोच पनि गर्नेछ।

समावेशी शिक्षालाई लिएर मिचिलिना चार्ल्स हाजेली लेख्छिन्, “शिक्षामा, हाम्रो समुदायले समावेशीता र युवा दिमागलाई पोषण गर्ने सिद्धान्तलाई जोड दिन्छ, जसले मार्गदर्शन र प्रेरणा दिन्छ।” हाजेलीको यो भनाइबाट हामीले सिक्नुपर्छ, नयाँ शिक्षा व्यवस्था विकास गर्दा विगतका त्रुटीहरू सच्याएर शिक्षालाई समावेशी र वैज्ञानिक बनाउनु पर्छ। जसले हरेक विद्यार्थीलाई उसको जीवनकालमा सफल र असल नागरिक बन्न सहयोग गरिरहनेछ। सामाजिक(आर्थिक रूपान्तरणका लागि यो नै ठीक र प्रभावकारी तरिका हो।

त्यसैले हामीले बुझ्नु र बुझाउनु पर्छ, “सामाजिक-आर्थिक रूपान्तरण र दिगो विकासका लागि गुणस्तरीय शिक्षा अनि गुणस्तरीय शिक्षाका लागि शिक्षामा आमूल परिवर्तन अत्यावश्यक भएको छ। यसर्थ राज्यले आफ्ना क्षमताहरूको अधिकतम सदुपयोग गरेर देशको परिस्थितिमा सुधार ल्याउँदै नागरिकको मनस्थिति सकारात्मक र रचनात्मक बनाउन शिक्षाको चरित्र बदल्न तयार हुनुपर्छ।” शिक्षाको चरित्र नबल्दासम्म देशको चित्र राम्रो बनाउन सकिदैन् भन्ने चेत हाम्रा मुख्य सरोकारवालाहरूमा विकास गर्न सामाजिक सञ्जाल र सञ्चार माध्यमहरूको सकारात्मक रूपमा अधिकतम उपयोग गरौं। शिक्षाको चरित्र बदल्ने र सामाजिक-आर्थिक रूपान्तरण दिगो बनाउने महान अभियानमा मुख्य र असल सहयोगी बनौं।