११ कार्तिक २०८१, आइतबार 1730024720
पालिका

सीमानामा काठमाडौं महानगरबाट बल मिच्याइँ भयो : बूनपा प्रवक्ता भट्टराई

काठमाडौं । बूढानीलकण्ठ नगरपालिकाका प्रवक्ता तथा वडा नम्बर १०का वडाध्यक्ष नवराज भट्टराईले काठमाडौं महानगरपालिका र बूढानीलकण्ठ नगरपालिकाको सीमानामा पर्ने खोला उत्खनन्का महानगरले समन्वय नगरेको बताएका छन् ।
केही दिनअघि बुनपा र कामनपाको सीमानामा पर्ने साततलेमा काठमाडौं महानगरपालिका सो खोला उत्खनन् गर्न गएपछि उत्पन्न विवादका सन्दर्भमा उनले यस्तो बताएका हुन् ।

यसैगरी खोला उत्खननका लागि महानगरले बूढानीलकण्ठ नगरपालिकासँग समन्वय नगरेको पनि बताए ।
महानगरको प्रहरी टोली खोला उत्खनन्का लागि डोजर लिएर सीमामा पुगेको र स्थानीयले सीमानामा हुने गतिविधिबारे जान्न पाउनुपर्छ भन्दा काठमाडौं महानगरपालिका प्रमुखले कुनै पनि कुराको सुनुवाइ नगरी आफूहरुमाथि बल प्रयोग गरेको उनको भनाइ छ ।
एउटा स्थानीय सरकारले अर्को स्थानीय सरकारसँग समन्वय गर भन्दा बल प्रयोग गर्नु जायज नभएको उनको भनाइ छ ।
यस्तै, खोलामा राखेका हिमपाइप निकालेपछि बूढानीलकण्ठ नगरपालिका र काठमाडौं महानगरपालिकाबीचको नेटवर्किङ नै बन्द हुने उनले बताए ।
विगतमा काठमाडौं महानगरपालिका र बूढानीलकण्ठ नगरपालिकाको मिलीभगतमा खोलालाई साँगुरो बनाएको बताउँदै अहिले खोलामा हालेको हिमपाइप निकालेर मात्रै कपन क्षेत्रमा हुने डुबानको समस्या समाधान नहुने बताए । यस्तै, उनले हिजो विविध कारणले हराएका खोला खोज्ने पक्षमा आफू पनि रहेको बताए ।

अहिले काठमाडौं महानगरपालिका, बूढानीलकण्ठ नगरपालिका र नापी विभागले नापजाँच गरी खोला उत्खनन् गर्ने सहमति भएको छ ।

महानगरपालिका डोजर लिएर सीमा क्षेत्रमा पर्ने खोला उत्खननका लागि गएपछि स्थानीयको आग्रहमा जनप्रतिनिधि सो ठाउँमा पुगेका थिए ।