११ कार्तिक २०८१, आइतबार 1730053396
Banner

१० वटा समितिका सभापतिमा आज उम्मेदवारी प्रस्ताव दर्ता

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गत गठित १० वटा विषयगत समितिको सभापति निर्वाचनका लागि कार्यतालिका सार्वजनिक भएको छ ।

जसअनुसार आज सभापतिको उम्मेदवारी प्रस्ताव दर्ता गर्ने कार्यतालिका छ । यस्तै दर्ता भएका प्रस्तावको सूची प्रकाशित गर्ने कार्यतालिका पनि आजैका लागि तोकिएको छ । सभापतिका लागि दर्ता प्रस्तावहरू सोमबार सम्बन्धित समितिमा निर्णयार्थ प्रस्तुत गरिनेछन् ।

“प्रतिनिधिसभाअन्तर्गतका समितिको सभापतिको निर्वाचनका लागि प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १७६ को उपनियम (१) बमोजिम सभामुखले २०८० भदौ ११ गते दिउँसो ३ बजेको समय निर्धारण गर्नुभएको छ”, प्रतिनिधिसभाका सचिव पद्मप्रसाद पाण्डेयद्वारा जारी सूचनामा भनिएको छ ।

प्रतिनिधिसभाको सम्बन्धित समितिको कुनै सदस्यलाई सभापतिमा निर्वाचित गरियोस् भनी कुनै अर्को कुनै एक सदस्यको समर्थनसहित आज बिहान ११ देखि बेलुका ४ बजेसम्म प्रस्ताव दर्ता गर्ने समय तोकिएको छ । यसरी निर्धारित समयभित्र दर्ता भएका प्रस्तावको सूची बेलुका ४ः३० बजे प्रकाशन गरिनेछ । यस्तो सूची दर्ताक्रमअनुसार निर्धारण हुने संसद् सचिवालयले जनाएको छ ।