भक्तपुर– भक्तपुरमा मृतकको सम्झनामा आज गाईजात्रा (सापारु) मनाइँदै छ । वर्षभरि मृत्यु भएका व्यक्तिको स्मृतिमा गाईजात्रा मनाइने गरेको हो ।
सापारुमा मृतकको घरबाट गाई, ताहासाँ, ताहामचा, माटोको साँ वा साना नानीलाई महादेव पार्वती बनाइन्छ । बनाइएका प्रतीकलाई नगरभित्र परिक्रमा गराइन्छ । यसरी परिक्रमा गराए मृतक व्यक्ति गाईको पुच्छर समातेर स्वर्गमा जाने मान्यता नेवारी समुदायमा छ । सापारुमा नेपाली भाषामा साँ भनेको गाई र पारु भनेको प्रतिपदा हो ।
भाद्र कृष्ण प्रतिपदाको दिन गाईजात्रा गर्दा मृतकले गाईको पुच्छर समातेर वैतरणी नदी तर्छन् भन्ने विश्वास भएर नेवार जातिले यो पर्व मनाउन थालेको संस्कृतविद् बताउँछन् ।
आनन्द देवदेखि यक्ष मल्लसम्मको समय ३६७ वर्षसम्म नेपालको राजधानी भक्तपुर थियो । यक्ष मल्लको समयपछि काठमाडौं उपत्यका विभाजित भएसँगै काठमाडौं, भक्तपुर र ललितपुरमा भिन्दाभिन्दै संस्कृति विकास भयो । राजा मल्लको पालादेखि प्रचलनमा आएको गाईजात्रा हनुमानढोकास्थित राजदरबार भएर जानुपर्ने प्रथा अहिलेसम्म पनि जारी छ । देशका विभिन्न सहरमा गाईजात्रा मनाइने भए पनि उपत्यकामा यसको विशेष रौनक देखिने गर्छ ।