रौतहट । रौतहटको चन्द्रनिगाहपुरस्थित मोथियाही पुल नजिक भएको सवारी दुर्घटनाका मृतकका आफन्तले शनिबार दिउँसोदेखि पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारेका छन् । शुक्रबार साँझ बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएपछि पीडितका आफन्तले क्षतिपूर्ति माग्दै सडक अवरुद्ध पारेका हुन् ।
चन्द्रपुर नगरपालिका–६ स्थित मोतियाही पुलनजिक चपुर–गौर खण्डमा गौरबाट चन्द्रनिगाहपुरतिर आउँदै गरेको ना४ ख ६५४७ नम्बरको बस र विपरीत दिशाबाट जाँदै गरेको ना ३९ प ४२४० नम्बरको मोटरसाइकल ठोक्किँदा वृन्दावन नगरपालिका–२ विश्रामपुरका ४० वर्षीय नागेन्द्र पटेलको मृत्यु भएको थियो ।
घटनापछि मृतकका परिवार र बस सञ्चालकबिच क्षतिपूर्तिको विषयमा इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा छलफल भएको थियो । बस धनीको तर्फबाट कानुनले तोकेको भन्दा बढी रकम नदिने अडान राखे पछि मृतकका परिवारले राजमार्ग ठप्प पारेका हुन् । राजमार्ग बन्दका कारण चन्द्रनिगाहपुर चोकमा सयौं सवारी अलपत्र परेका छन् । मृतकका आफन्त सडकमा टायर बालेर बसेका छन् ।


