११ कार्तिक २०८१, आइतबार 1730059847
Banner

कांग्रेस सहमहामन्त्री यादवको स्वास्थ्य स्थिर,अवस्था बुझ्न देउवा अस्पतालमा

काठमाडौँ । नेपाली कांग्रेसका सहमहामन्त्री तथा पूर्वमन्त्री महेन्द्र यादवको स्वास्थ्य अवस्था स्थिर रहेको छ । राष्ट्रिय ट्रमा सेन्टरले बुधबार विज्ञप्ति जारी गर्दै यादवको आईसीयूमा उपचार भइरहेको जानकारी दिएको हो । 

कांग्रेसका सहमहामन्त्री यादवमाथि बुधबार काठमाडौँको भृकुटीमण्डपमा सांघातिक हमला भएको थियो । नुवाकोटाको विदुर नगरपालिका घर भएका श्याम बहादुर सापकोटाले यादवमाथि धारिलो हतियारले आक्रमण गरेका हुन् । आक्रमणमा घाइते भएका यादवको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । 

अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेण्डेण्ट डा. बद्री रिजालले जारी गरेको विज्ञप्तिमा भनिएको छ,’टाउकोको सीटी स्क्यान गर्दा हाल कुनै पनि आन्तरिक चोट नदेखिएको जानकारी गराइन्छ । उहाँको टाउकोको पछिल्लो भागमा रहेको घाउलाई न्यूरोसर्जरी/ओर्थोपेडिक सर्जरीका विज्ञ डाक्टरहरुद्वारा अपरेशन गरी रक्तश्राव रोकिएको र घाउमा टाँका लगाइएको छ । तत्पश्चात् हेर्नका लागि ट्रमा सेन्टरको आईसीयूमा चिकित्सकको प्रत्यक्ष निगरानीमा राखिएको छ । हाल उहाँको स्वास्थ्य अवस्था स्थिर रहेको र चिकित्सकको निगरानीमा आईसीयूमा उपचार भइरहेको जानकारी गराइन्छ ।’

यादवको टाउकोको पछिल्लो भाग तथा गर्धनमा धारिलो हतियार प्रयोग भएकाले गहिरो घाउ परेको अस्पतालले जनाएको छ ।

यादवको स्वास्थ्य अवस्था बुझ्न यतिवेला अस्पताल परिसरमा कांग्रेस नेता तथा कार्यकर्ताहरुको घुईँचो लागेको छ। अहिले यादवको स्वास्थ्य अवस्थाबारे जानकारी लिन कांग्रेस सभापति शेरबहादुर देउवा अस्पताल पुगेका छन् ।

  

t