काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले इँटको जवाफ पत्थरले दिन समाजवादी मोर्चाका कार्यकर्तालाई निर्देशन दिएका छन् । विराटनगरमा सोमबार मोर्चाले गरेको सन्देश सभालाई सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन् ।
सामाजिक सञ्जाल हेर्न नसक्ने अवस्था आएको भन्दै उनले भने, ‘यस्तो भाषा बोल्ने नेपाली कल्चर हो त भनेको जस्तो लाग्छ ।’
यस्ता प्रचार गर्नेहरु चाहिं राजनीतिज्ञ जस्तो, अनि जिन्दगीभर जेलनेल, भूमिगत, त्याग गरेर देशमा गणतन्त्र ल्याउनेहरु रक्षात्मक, अलिकति डराए जस्तो देखिएको उनले बताए । उनले अघि भने, ‘नाम त के लिनु र मैले । निरंकुशताका दलालहरु‘, जसको चरित्र गुण्डाको भन्दा फरक छैन ।’
उनीहरुमध्येकै एकले नेपाली कांग्रेसको सहमहामन्त्रीमाथि खुकुरी प्रहार गरेको प्रधानमन्त्रीले बताए । ‘भनेपछि उनीहरुको मनोबल कस्तो रहेछ, तपाईं हामी चाहिं बडो रक्षात्मक’ उनले भने, ‘त्यस्तो होइन अब । अब यो समाजवादी मोर्चाले जहाँ बदमासी हुन्छ, गालीगलौज हुन्छ, त्यो इँटको जवाफ पत्थरले दिने हो । दिनैपर्यो ।’