९ मंसिर २०८१, आइतबार 1732436653
Banner

सुवास नेम्वाङले त्यो अन्तिम भाषणमा भनेका थिए, ‘मलाई त स्वर्ग र नर्कमा विश्वास छैन’

काठमाडौँ । संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङ गत शनिबार युवा संघ नेपालको कार्यक्रममा भाग लिन धरान पुग्नुभएकाे थियाे ।

त्यहाँ उहाँले संविधान निर्माण र नेपालमा पछिल्लो समय चलिरहेको विद्वेषका विषयमा पनि आफ्ना धारणा राख्नुभएकाे थियाे । उहाँले सबै जाति, धर्म, भाषा, संस्कृतिलाई एकताबद्ध राखेमा देशविरुद्ध हुने षड्यन्त्र पराजित हुने बताउनुभएकाे थियाे । उहाँको त्यो कार्यक्रममा दिएको भाषण नै अन्तिम सार्वजनिक अभिव्यक्ति हुनपुग्यो ।

नेम्वाङ भदौ २३ गते धरानमा बोलेपछि सार्वजनिक कार्यक्रममा जानुभएन। २४ गते बिहान प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार समितिले गठन गरेको संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक टुंगो लगाउन बनेको उपसमितिको अनौपचारिक बैठकमा सहभागी हुनुभयाे। एमाले संसदीय दलका उपनेतासमेत रहेका उनले उक्त दिन दिउँसोभर पार्टी नेता तथा सञ्चारकर्मीहरूसँग सिंहदरबारस्थित आफ्नो कार्यकक्षमा विविध विषयमा छलफल गर्नुभएकाे थियाे । त्यसको भोलिपल्ट सोमबार भने उहाँ बिरामी सञ्चो नभएको भन्दै बालुवाटारस्थित घरमै आराम गर्ने भनी कार्यालय आउनुभएन । मंगलबार बिहान १ बजे भने उहाँको हृदयघातबाट निधन भयो ।

नेम्वाङले आफ्नो अन्तिम सार्वजनिक अभिव्यक्तिमा संविधान निर्माणदेखि मुलुकलाई आगामी दिनमा कसरी एकताबद्ध गरेर अघि बढ्ने भन्नेबारे युवाहरूलाई आह्वान गर्नुभएकाे थियाे । जातिय राज्य माग्नेदेखि धार्मिक विषयमा समाजमा षड्यन्त्र भइरहेको हो कि भन्ने उहाँको आशंका थियो । गत मंसिर ४ मा भएको प्रतिनिधिसभा निर्वाचनमा धर्मनिरपेक्ष राज्य घोषणा गर्ने संसद्को सभामुख भएको हुनाले भारतबाट आफूलाई पराजित गर्न भनी इलाममा मानिसहरू परिचालित भएको पनि उहाँले स्मरण गर्नुभएकाे थियाे । 

उहाँले धरानमा गरेको अन्तिम भाषणको सारसंक्षेप यस्तो थियोः

हामीले राम्रो संविधान बनायौं । हाम्रो नेतृत्व, पहल र प्रयासमा संघीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षतासहितको समाजवाद उन्मुख संविधान हामीले बनायौं । त्यो जनताले जनताको लागि बनाएको संविधान हो । त्यो संविधान पहिलोपटक नेपालको इतिहासमा विश्वकै सन्दर्भमा हामीले समावेशी संविधान बनायौं । समावेशी संविधानसभाबाट, शून्यबाटमाथि उठ्दै सहभागितामूलक ढंगले जनताले जनताको लागि संविधान बनायौं । हाम्रो नेतृत्व, पहल र प्रयासमा हामीले बनाएको संविधान हो ।

यो लिम्बु, राई, ब्राह्मण, क्षेत्री, दलित महिलाले तराई मधेसदेखि हिमालसम्म सबै जाति भाषा धर्मले बनाएको संविधान हो । पहिलोपटक नेपालको इतिहासमा समावेशी संविधान बन्यो । संविधान समावेशी बनाउने पार्टीलाई तँ समावेशी भइनस् भनेर कोही मित्रले भन्छ भने तपाईं हामीले त्यसलाई कसरी लिनुपर्छ होला ?

पहिचानको, समावेशिताको सन्दर्भमा यो देशमा हामीले जति काम गरेका छौं त्यति अरुले गरेका छैनन् । धर्मनिरपेक्षता कसको नेतृत्वमा भयो ? २०६३ जेठ ४ गते धर्मनिरपेक्षता घोषणा भयो । त्यो संसद्को सर्वसम्म सभामुख म थिए । त्यहाँबाट धर्मनिरपेक्षता घोषणा भयो । सुवासले खुसुक्क धर्मनिरपेक्षता घुसाइदियो पनि भने । त्यसताका केही साथीहरू चुनावमा पनि पुगेका थिएँ । यसपालि त दक्षिणबाट पनि आउनुभएको थियो रे- धर्मनिरपेक्षता भन्ने सुवासलाई हराउनुपर्छ भनेर । को साथी हुन् ? के हुन् ? कुनै दिन तपाईंहरूसँग समय लिएर अलिक व्यापक रूपमा भनौंला ।

म कहिले रिस नउठ्ने मान्छे त्यसैले रिसाइनँ, अलिअलि भित्र रिस उठ्यो होला मैले त्यो प्रक्रियाको जम्मै कुरा सुनाएर के भने भन्दा यी साथीहरू जसले ममाथि यस्तो आरोप लगाइरहेका छन्, यिनीहरू म त कम्युनिस्ट परेँ, एमालेको इमानदार कार्यकर्ता मलाई त स्वर्ग-नर्कमा विश्वास छैन, तर यी साथीहरू त विश्वास गर्छन् होला । नर्क छ भने यी साथीहरू चाहिँ सोझै नर्क जान्छन् भनिदिए । हामीले घोषणा गरेका हौं धर्मनिरपेक्षता । समावेशिता हामीले बनाएका हौं । अनि यो ठाउँमा शीर ठाडो पारेर, छाती फुकाएर, विनम्रतापूर्वक म आग्रह गर्न चाहन्छु किराँतहरूका महागुरु फाल्गुनन्दलाई यो देशको राष्ट्रिय विभूति मेरो पहलमा, हाम्रो पार्टीको पहलमा, हाम्रो पार्टीको नेतृत्वको पहलमा हामीले घोषणा गरेका हौं । अब फाल्गुनन्द किराँतीहरूको मात्रै रहेनन्, उनी सिंगो देशको, सबै जाति, धर्म, भाषा, संस्कृतिका जनताको महागुरु भए ।

यति काम गर्ने पार्टीलाई पहिचानविरोधी भन्न मिल्छ ? हिँड्ने क्रममा कहिँ कतै अलिकति कमजोरी भयो कि भन्नु, छलफल गर्नु एउटा कुरा हो । तर, पहिचानविरोधी भन्ने अनि को-को साथीहरूले ढुंगा हान्ने । म त कसले हाने त्यो पनि बिर्सिइसके । ढुंगा चाहिँ हानेका हुन् है । किनभने बुधबारेमा ढुंगा खाँदाखेरि मपनि सँगै थिए, अध्यक्षसँग । पाँच-सातदिनपछाडि एउटा भाइले फोन गरे मलाई । ‘दाइ तपाईं पनि हुनुहुँदो रहेछ, तपाईंलाई चाहिँ हिर्काएको होइन है ढुंगा’ रे ! मलाई यो तरिका खुबै मन पर्‍यो । सँगै गाडीमा हिँडेको छ अध्यक्षसँग, असिनाजस्तो ढुंगा बर्सिएको छ, त्यो चाहिँ केपी ओलीमाथि मात्रै हो, तपाईंलाई चाहिँ होइन है भनेपछि ! भन्नेले भनिगए । म पनि सोझो, पत्याइगए ।

एकजना ताप्लेजुङतिरको लिम्बु बल्लबल्ल डीएसपी भएका थिए । त्यो ढुंगाले धेरै होइन, उनको टाउकोमा १७ टाँका लाग्यो । अर्को एकजना हवल्दार विचरा राजवंशी परेछन् । उनको च्यापु नै भत्कियो । प्लेट लगाएर उनलाई उपचार गर्न राखिराखेको थियो । म उनलाई भेट्न गएको थिए । मैले यतिमात्रै मेरो मुखबाट फुत्त निस्कियो- हैन यो पहिचानको ढुंगा त खतरानाक हुँदो रहेछ । मलाई विश्वास छैन यो पहिचानको ढुंगा भनेर । तर, यो पहिचानको ढुंगा त खतरानाक हुँदो रहेछ । ठ्याक्कै ताप्लेजुङको लिम्बु डीएसपीलाई लाग्ने, झापाको राजवंशी हवल्दारलाई लाग्ने कस्तो खालको कस्तो खालको ढुंगा हो यो ? यो कसैको लागि पनि हितमा छैन । यो ढुंगा हान्ने कुरा गलत हो ।

लोकतन्त्रिक मूल्य र मान्यताविपरीतका कामकारबाही जहाँबाट भएको हो त्यसलाई रोकौं । लोकतान्त्रिक विधि अनुसारका कामकारबाही गर्नुस् । कुनै कुरा मेरो बारेमा चित्त बुझेन विरोध गर्नुस् । हाम्रो पार्टीको बारेमा चित्त बुझेन विरोध गर्नुस् । तर, लोकतन्त्रको मूल्य र मान्यतालाई तपाईं हामीले बलियो बनाएर जानुपर्दछ । यो नै देश र जनताको हितमा छ ।

हाम्रो छिमेको भारत दास बन्यो । हामी पटक-पटक चर्चा गर्छौं तर नेपाल कहिले पनि दासतामा परेन, स्वतन्त्र रह्यौं । ८ वर्ष अगाडि जनताले जनताका लागि संविधान बनायौं । राष्ट्रिय झन्डा पास गर्‍यौं । कुनै बेलामा यसको बारेमा तपाईंहरूसँग बसेर छुट्टै छलफल गरौंला ।

चन्द्रमा र सूर्य अंकित झन्डाबारे त्यतिबेला छलफल चलेको मलाई सम्झना छ । यो तीनकुने झन्डा भएन फेर्नुपर्छ, चन्द्रमा र सूर्य भएन । चन्द्रवंशी र सूर्यवंशी कुनै राजाको पसिना गन्हाउँछ, संविधानसभामा छलफल चलेको थियो । कसले उठायो भन्नुहोला, म साह्रै बिर्सने, धुमधाम बहस चलेको थियो कसले उठायो उठायो ! धुमधाम छलफल चलेपछि मैले नै प्रस्ताव राखे- जबसम्म आकाशमा चन्द्रमा र सूर्य रहन्छ तबसम्म नेपालको अस्तित्वलाई सकैले केही गर्न सक्दैन भनेर यसलाई पास गरौं न ! नेपालको राष्ट्रिय झन्डा पास भयो । अहिले हामी राष्ट्रिय झन्डा बोकेर हिँडिरहेका छौं ।

नेपालको नामै परिवर्तन गरौं भन्ने पनि छलफल चल्यो । कुनै दिन यसको बारेमा पनि तपाईंहरूसँग बसेर सल्लाह गरौंला, छलफल गरौंला । मैले भन्न खोजेको के हो भन्दा हाम्रा छिमेकका त्यत्रा ठूला देश दास बन्न पुगे तर नेपाल कहिले कसैको दास बनेन । सदासर्वदा स्वतन्त्र रह्यो किन थाहा छ ? यसको एउटै कारण हो तराई मधेशदेखि हिमालसम्मका सबै जाति भाषा धर्म संस्कृतिका जनता एक ठाउँमा एकजुट भएर उभिएका छन्, त्यसैले नेपालले कसैको पनि दास बन्न परेन । तर, त्यसको विरुद्धमा कता-कता कहिलेकाँही षडयन्त्र भइरहेको छ कि भन्ने देखिन्छ । यसको दवाइ पनि हाम्रा युवाहरू हुनुहुन्छ, तपाईंहरूले यो कुरा लिएर जनताको बीचमा पुग्नुपर्छ । जनतालाई एकजुट बनाउनुपर्छ । तराई मधेसदेखि हिमालसम्मका विविध जाति, भाषा, धर्म, संस्कृतिलाई एक ठाउँमा उभ्याउने हो भने कसैको पनि षडयन्त्र सफल हुँदैन ।