काठमाडौं । सर्वोच्च अदालतको फैसलापछि नेपाली काँग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले बोलाएको बैठक शेखर कोइराला पक्षले बहिष्कार गरेको छ ।
शेखर कोइराला र सशांक कोइराला पक्षले अदालतको फैसला स्वीकार्ने भन्दै देउवा पक्षको बैठकमा नगएको हो । शुक्रबार सर्वोच्च अदालतले सभापति गगन थापा पक्षलाई मान्यता दिएको थियो । त्यसअघि कोइराला समूह पनि देउवा पक्षकै बैठकमा सहभागी हुँदै आएको थियो ।
आइतबार बिहान कोइरालाको सचिवालय विशालनगरमा बसेको कोइराला समूहको बैठकले अदालतले विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिलाई मान्यता दिने निर्णयलाई स्वीकारेर पार्टी सुदृढीकरणमा जोड दिने निष्कर्ष निकालेको हो ।
छलफलमा निवर्तमान उपसभापति गुरुङ, पूर्वमहामन्त्री शशांक कोइराला, निवर्तमान सहमहामन्त्रीहरू बद्री पाण्डे र जीवन परियार, नेताहरू मीनेन्द्र रिजाल, दिलेन्द्रप्रसाद बडू, सरिता प्रसाईं, चन्द्रमोहन यादव, सीता थपलिया लगायत सहभागी थिए। सर्वोच्च अदालतको फैसलापछि निवर्तमान उपसभापति पूर्णबहादुर खड्काले आज आफ्नै निवासमा छुट्टै बैठक बोलाएका थिए ।


