१० कार्तिक २०८१, शनिबार 1729987553
Banner

मुद्दा फर्छ्यौटमा निश्चित मापदण्ड र कार्ययोजना कार्यान्वयन हुन्छ : प्रस्तावित न्यायाधीश

काठमाडौं । सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश विनोद शर्माले संसदीय सुनुवाइका क्रममा आमनागरिकबाट अपेक्षा गरिएको भूमिका पूरा गर्ने प्रक्रियामा इमान्दार प्रयास गर्ने बताएका छन् ।

शुक्रबार संसदीय सुनुवाइ समितिको बैठकमा अवधारणा र कार्ययोजना प्रस्तुत गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।

न्यायाधीशलाई वास्तविक न्यायाधीश, आचरण र व्यवहारले बनाउने बताउँदै उनले तटस्थ र गुणस्तरीय न्याय सम्पादनप्रति पूर्ण प्रतिबद्ध रहेको बताए ।

‘न्यायपालिकाप्रतिको निष्ठा र आस्था न्यायाधीशको आचरण र व्यवहारबाट प्रदर्शित हुने विषय हो,’ उनले भने, ‘स्वतन्त्र न्यायपालिकाको अवधारणाको आलोकमा तयार भएको मिलान घोषणापत्र अनुकुल हुने गरी तयार भएको न्यायाधीशको आचारसंहिताद्वारा निर्देशित रही स्वच्छ, सक्षम, निष्पक्ष, तटस्थ र गुणस्तरीय न्याय सम्पादनप्रति पूर्ण प्रतिबद्धता छु ।’

सर्वोच्च अदालतमा रहेका पुराना बक्यौता मुद्दाहरुको फर्छ्यौट, फरक मुद्दा व्यवस्थापन, पद्दतिको कार्यान्वयन, इजलासको समय व्यवस्थापन र बहस तथा सुनुवाइ व्यवस्थापनका सम्बन्धमा निश्चित मापदण्ड र कार्ययोजना तयार गरी लागू गर्ने कार्यमा आफू सक्रिय रहने बताए ।

ओखलढुंगा घर भएका ६२ वर्षीय शर्मालाई यही भदौ १० गते बसेको न्याय परिषदको बैठकले न्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको थियो । १५ भदौमा बसेको सुनुवाइ समितिको बैठकले १० दिनको म्याद दिएर उजुरी आह्वान गरेको थियो ।

Tags :