काठमाडौं । कपिलवस्तुमा दिदीबहिनीलाई सर्पले डस्दा एकको मृत्यु भएको छ । बाणगंगा नगरपालिका– ९ भलवाडका ३ वर्षीया रितिका क्षेत्री र ८ वर्षीया इशिका क्षेत्रीलाई मङ्गलबार राति सर्पले डसेको हो । घरमा सुतिरहेको अवस्थामा सर्पले डसेको बुबा मोतिलाल क्षेत्रीले बताउनुभयो ।
उपचारका क्रममा रितिकाको मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका सूचना अधिकारी डा.नेत्र बहादुर रानाले जानकारी दिनुभयो । इशिकाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
सर्पले डसेको थाहा पाए पछि दुबैलाई बिहान ४ बजे उपचारका लागि कपिलवस्तु सर्पदंश उपचार केन्द्र गोरुसिङ्गेमा लगिएको थियो । अचेत अवस्थामा रहेकाले थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाइएको सर्पदंश उपचार केन्द्रमा वातावरणीय व्यवस्थापक नवीन भण्डारीले बताउनुभयो । एक जनाको कान र अर्कोको हातमा सर्पले डसेको बताइएको छ ।