९ मंसिर २०८१, आइतबार 1732436011
Banner

एमालेले मेरो ट्रेडमार्क बनाइदियो : प्रसाईं

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले ‘एमालेले आफूलाई ठुलो गुन लगाएको बताएका छन् ।

सोमबार उनीमाथि कालोमोसो दलेपछि आफ्नै घरमा पत्रकार सम्मेलन गरी प्रसाईंले यस्तो बताएका हुन् ।उनले एमालेसँग प्रतिस्पर्धा गर्ने दुर्गा प्रसाईं हो भन्ने ठानेको पनि बताए ।

केपी ओलीभन्दा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नारायणकाजी श्रेष्ठहरूमा धेरै राजनीतिक चरित्र रहेको बताए ।

‘हजुर बुबामा राजनीतिक चरित्र देखिएन, बरु प्रचण्ड र नारायणकाजी श्रेष्ठमा राजनीतिक चरित्र देखियो’, प्रसाईंले भने, ‘एमालेले मलाई ठुलो गुन लगायो । नेता बनायो । ट्रेडमार्क बनायो । एमालेसँग प्रतिस्पर्धा गर्ने दुर्गा प्रसाईं हो भन्ने ठान्यो ।’

साथै, उनले एमाले अध्यक्ष केपी शर्मा ओली र युवासंघका इन्चार्ज महेश बस्नेत आफूसँग डराएको बताएका छन् । देश बचाउनुपर्छ भन्दा आफूमाथि दुर्व्यवहार भएको भन्दै उनले एमालेसँग खेल सुरु भएको उनको भनाइ छ ।

‘म खुसी छु । मैले त नागरिक बचाउ, देश युवाविहीन भयो, जनताले दुःख पाए भन्दा मलाई दुर्व्यवहार भयो’, उनले भने, ‘एमाले कसको पार्टी रहेछ भन्ने देखियो । तस्करहरूको पार्टी एमाले भन्ने प्रमाणित भयो । गरिबको आवाज उठाउँदा मलाई कालो मोसो दलियो । यसको जवाफ जनताले फर्काउँछन् ।’

उनले एमाले आफूसँग डराएको भन्दै खेल सुरु भएको पनि बताए । ‘हिजोदेखि खेल सुरु भयो, एमालेले मसँग खेल सुरु गर्यो, मैले आजबाट पत्रकार सम्मेलन गरेर सुरु गरेँ’, प्रसाईंले भने, ‘खेल बन्द भएको छैन ।’