९ मंसिर २०८१, आइतबार 1732473819
Banner

अध्यक्ष ओलीविरुद्ध नियोजित रूपमा भ्रामक र लाञ्छनायुक्त प्रचार गरिँदैछ: विष्णु पौडेल

काठमाडौंनेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले पूर्व प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीविरुद्ध भ्रामक प्रचार गर्ने तथा चरित्रहत्याको खेती गर्नेमाथि कानूनबमोजिम कारबाही अघि बढाउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ।

उपाध्यक्ष पौडेलले एमाले अध्यक्ष ओलीविरुद्ध भ्रमपूर्ण प्रचार गर्ने अपराधकर्ममा संलग्नहरुलाई दण्डित नगरे सरकारको नियतमाथि प्रश्न उठ्नेसमेत बताउनुभएको छ।

पछिल्लो समय बैंकको ऋण नतिर्ने अभियान चलाइरहेका व्यवसायी दुर्गा प्रसाईंले एमाले अध्यक्ष ओलीमाथि कम्बोडियाको टेलिकममा लगानी गरेकोलगायतका आरोप लगाउनुभएको छ।

ओली नेतृत्वमा नेपालले चुच्चे नक्सा जारी गरेपछि भारतीय मिडियाले तीन वर्षअघि प्रसारण गरेको फेक रिपोर्टलाई उद्धृत गर्दै प्रसाईंले ओलीमाथि आरोप लगाएका भिडिओहरु भाइरल छन् ।

एमालेले प्रसाईंको भ्रमपूर्ण अभिव्यक्तिलाई आपराधिक कार्य भन्दै कानूनबमोजिम कारबाहीको लागि सरकारको ध्यानाकर्षण गराएको छ। ओलीले गणतन्त्र र धर्मनिरपेक्षको विकल्पमा अहिले कोही जान नसक्ने भन्दै राजतन्त्र फर्किन सम्भव नरहेको अभिव्यक्ति दिएपछि राजावादीहरुले नियोजित आक्रमण थालेको एमालेको दाबी छ।

उपाध्यक्ष पौडेलले एमालेलाई कमजोर पार्न देशी विदेशी प्रतिक्रियावादी शक्तिहरुले विगतमा पार्टीभित्रैका अवसरवादी र स्वार्थी तत्वहरुलाई प्रयोग गरेर विभाजनको प्रयास गरेकोसमेत बताउनु भएको छ। सबै प्रकारका षड्यन्त्रहरु असफल भएपछि पार्टीको मुख्य नेतृत्वमाथि प्रहार केन्द्रित गरिएकोसमेत उहाँले बताउनुभयो।

पौडेलले भन्नुभयो, ‘विगतमा पनि कहिले हामीभित्रैका स्वार्थी र अवसरवादी तत्वहरुलाई प्रयोग गरेर विभाजनको प्रयास गरिए। कहिले राज्यशक्ति र सत्ताको दुरुपयोग गरेर एमालेविरुद्ध प्रहार भए । कहिले हाम्रा नेताहरुको चरित्रहत्या गर्न प्रायोजित र झूट प्रचार गरे । यही सिलसिलामा अहिले हाम्रो अध्यक्षका विरुद्ध जुन प्रकारको लाञ्छनायुक्त भ्रामक प्रचार गर्दैछन्, तिनीहरुलाई कारबाही गरिएन भने एमालेले प्रतिवाद गर्नेछ ।’

उपाध्यक्ष पौडेलले केपी ओलीको नेतृत्वमा एमाले अझ बढी एकताबद्ध र बलियो बनेर अघि बढेपछि मूल नेतृत्वमाथि प्रहार गर्न योजनाबद्ध र संगठित प्रयास भइरहेको समेत बताउनुभएको छ।