१० मंसिर २०८१, सोमबार 1732538285
राजनीति

सरकारले तानाशाही प्रवृत्ति देखायोः डा.सुनिल शर्मा

काठमाडौं । नेपाली कांग्रेसका सांसद डा.सुनिल शर्माले टिकटक बन्द गर्ने निर्णय गरेर सरकारले नागरिकको वाक स्वतन्त्रता माथि अंकुश लगाउँने काम गरेको बताएका छन् । आज बसेको मन्त्रिपरिषद्को बैठकले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेपछि सांसद शर्माले सामाजिक सञ्जालमार्फत यसको विरोध जनाएका हुन् ।

सामाजिक सञ्जालको प्रयोगमा नियमन गर्नुको साटो प्रतिबन्ध लगाएर सरकारले तानाशाही र अधिनायकवादी शैली प्रदर्शन गरेको सांसद शर्माको ठहर छ । ‘नेपालमा टिकटक बन्द गरेर सरकारले नागरिकको वाक स्वतन्त्रतामाथि अंकुश लगाएको छ । सामाजिक सञ्जालको प्रयोगमा नियमन गर्नुको साटो सरकारले प्रतिबन्ध लगाउनु लोकतन्त्रमा नागरिकको “अभिव्यक्ति तथा वैयक्तिक स्वतन्त्रता” माथि अंकुश लगाएको प्रष्ट हुन्छ,’ सांसद शर्माले लेखेका छन्, ‘प्रचण्ड सरकारको यो चरम तानाशाही र अधिनायकवादी शैली हो, नेपाललाई उत्तर कोरिया सम्झने सरकारको गलत मनोवृत्ति हो । यसको म घोर आपत्ती र भर्त्सना गर्दछु ।’

सूचना तथा सञ्चारको प्रयोग र मिडियामाथि अंकुश लगाउने कार्यमा सरकार उद्दत देखिएको भन्दै उनले यो निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गरेका छन् । सूचना प्रविधिको गलत प्रयोग गर्नेहरूलाई ऐन कानून बनाएर नियमन र निरुत्साहित गर्नुपर्ने उनको भनाई छ ।