१० कार्तिक २०८१, शनिबार 1729944718
Banner

टिकटक चल्न नदिने सरकारको निर्णयमा टिकटकले पठायो यस्तो चिठठी

काठमाडौँ । सामाजिक सञ्जाल टिकटकले नेपाल सरकारको निर्णयबाट आश्चर्यचकित भएको प्रतिक्रिया दिएको छ ।टिकटक प्लेटफर्म बन्द गर्ने सरकारको निर्णय अभिव्यक्ति स्वतन्त्रताको सिद्धान्तहरूको विपरीत भएको पनि कम्पनीको भनाइ छ । मन्त्रिपरिषद्को निर्णयअनुसार नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकलाई नचल्ने बनाउने गरी कार्यान्वयनमा लगेसँगै टिकटकले पत्र पठाएर असन्तुष्टि पोखेको हो ।

‘हामी दृढतापूर्वक विश्वास गर्छौँ कि, ठोस आधार बिनै रचनात्मक अभिव्यक्तिको लागि व्यापक रूपमा प्रयोग हुने प्लेटफर्मको अनुचित अवरोध अभिव्यक्ति र अभिव्यक्ति स्वतन्त्रताको सिद्धान्तहरूको विपरीत हो’, टिकटकले नेपाल दूरसञ्चार प्राधिकरणलाई पठाएको पत्रमा भनिएको छ, ‘हामी नेपाल सरकारले उठाएका कुनै पनि सरोकारलाई सम्बोधन गर्न र त्यससँग मिल्दोजुल्दो समाधानतर्फ काम गर्न तयार छौँ ।’

टिकटक प्रतिबन्धको सरकारी निर्णयले आफ्नो लगानी योजनामा असर पर्नुका साथै युवा पुस्ताका नेपाली कन्टेन्ट क्रियटरहरूलाई समेत असर गर्ने कम्पनीको भनाइ छ । नेपालका कतिपय युवाले टिकटकमार्फत व्यवसाय सञ्चालन गरेको भन्दै कम्पनीले एकाएक बन्दको निर्णय हुँदा उनीहरूको व्यवसायमै पनि समस्या आउने उल्लेख गरेको छ ।

प्रयोगकर्ताको सुरक्षा आफ्नो पहिलो प्राथमिकता भएको भन्दै टिकटकले आफ्नो प्लेटफर्मलाई सुरक्षित र स्वागतयोग्य वातावरण सुनिश्चित गर्न प्रतिबद्ध रहेको पत्रमा उल्लेख गरेको छ ।