१० मंसिर २०८१, सोमबार 1732514703
Banner

नवराज विक हत्या प्रकरणमा थुनामा रहेका २३ जनालाई जन्मकैदको फैसला

काठमाडौं । रुकुम पश्चिमको चर्चित सोती हत्याकाण्डमा संलग्न २३ जनालाई जन्मकैदको सजाय भएको छ ।

जिल्ला अदालत रुकुम पश्चिमका न्यायाधीश खड्कबहादुर केसीको इजलासले मंगलबार थुनामा रहेका २३ जनालाई जन्मकैदको फैसला सुनाएको हो । हत्या गरिएका नवराज बिककी प्रेमिका, उनकी आमा र दाजुलाई भने जातीय छुवाछुतमा दुई वर्ष कैदको फैसला सुनाईएको छ ।

२०७७ जेठ १० मा रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ मा पर्ने सोतीमा ६ जना युवाको हत्या भएको थियो । प्रेमिका लिन भनी जाजरकोटबाट रुकुम पश्चिम गएका नवराज र उनका साथीहरूको समूहलाई स्थानीयले कुटपिट गरेर सेती नदीमा बगाइदिएको आरोपमा नेपाल सरकारले ३४ जनाविरुद्ध मुद्दा चलाएको थियो । नवराज दलित केटा भएकाले पटकपटक घरमा आउने गरेको कुरा परिवारका सदस्यहरूलाई मन नपरेको र आएमा मारिदिनेसम्मको योजना घरमा बनेको बयान नवराजकी प्रेमिका भनिएकीका दाइले वयान दिएका थिए ।