७ मंसिर २०८१, शुक्रबार 1732314636
Banner

सेनाको हेलिकप्टरबाट बालकुमारी घटनामा मृत्यु भएका दुई युवाको शवको सुर्खेत लगियो

काठमाडौं । ललितपुरको बालकुमारीमा इपिएस कोरिया शाखामा भाषा परीक्षाको आवेदन दिन पुगेका र प्रहरीबीच झडप हुँदा ज्यान गुमाएका दुई जनाको शव नेपाली सेनाको स्काई ट्रक मा राखेर लगिएको छ।

मंगलबार बिहान साढे १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सेनाको स्काई ट्रकमा राखेर लगिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नवराज कार्कीले जानकारी दिए।

गत शुक्रबार बालकुमारीमा झडप हुँदा दैलेखका सुजन रावत र अछामका वीरेन्द्र शाहको मृत्यु भएको थियो। सुजनको इमाडोलस्थित किष्ट अस्पतालमा मृत्यु भएको थियो। वीरेन्द्रको पाटन अस्पतालमा मृत्यु भएको थियो।

दुबैको शवको पोष्टमर्टम पाटन अस्पतालमा गरिएको थियो। दुबैको शव मंगलबार बिहान काठमाडौंबाट सेनाको स्काई ट्रकमार्फत् सुर्खेत विमानस्थल लगिएको हो।

त्यहाँबाट छुट्टाछुट्टै हेलिकप्टरमा राखेर घर पुर्‍याइने एसपी कार्कीले बताए।

मृतक परिवारले विभिन्न माग राखेर आन्दोलन गर्दै आएको थियो। सरकारसँग सोमबार भएको छलफलमा चार बुँदे सहमति समेत भएको थियो। सरकारले मृतक दुबै जनाको शव सम्बन्धित जिल्लामा पठाइदिने सहमति गरेको थियो।

मृतक परिवारलाई सरकारले १०-१० लाख रुपैयाँ दिने, त्यसबाहेक मृतक परिवारका सदस्य एक(एक जनालाई रोजगारी दिने पनि निर्णय भएको छ।