८ मंसिर २०८१, शनिबार 1732396422
Banner

आजको आवश्यकता असल शिक्षा र सफल शिक्षालय

“असल शिक्षा र सफल शिक्षालयले विद्यार्थीहरूलाई केन्द्रमा राख्छ र यसले विद्यार्थीलाई पूर्ण क्षमतामा प्रस्तुत हुन मद्दत गर्छ।”

नेपालमा शिक्षा असल र शिक्षालय सफल बनाउन यथास्थितिमा सुधारले मात्रै सम्भव हुँदैन्। यसका लागि शिक्षा व्यवस्थामा सबभन्दा पहिले आमूल परिवर्तन गर्नुपर्छ। आमूल परिवर्तनको सुरूवात पूर्वीय चिन्तन प्रणाली अर्थात विश्वदृष्टिकोणको जगमा गर्नुपर्छ। शिक्षाको राष्ट्रिय उद्देश्य र नीतिहरू पनि स्पष्ट हुनुपर्छ। सबल र सक्षम शैक्षिक जनशक्तिको विकास, छनौट र नियमित तालिमको व्यवस्था गर्नुपर्छ। पाठ्यक्रमको राष्ट्रिय प्रारूप विकास गरेर त्यसलाई प्रभावकारी कार्यान्वयनमा लैजानु पर्छ। शिक्षामा अभिभावकहरू र राज्यको लगानी पनि बढाउनु पर्छ।

“शिक्षा सबैको जीवनलाई समृद्ध बनाउने जीवन रेखा हो। सबैलाई आफ्नो जीवनमा सकारात्मक र गुणात्मक परिवर्तन गर्न गुणस्तरीय शिक्षा चाहिन्छ।” यसका लागि शिक्षा व्यवस्थालाई नयाँ पुस्ताको भविष्य राम्रो बनाउने दृष्टिकोणबाट विकास गर्नुपर्छ। नेपाल समृद्ध र नेपालीको जीवन सुखी बनाउन नागरिकको मनस्थिति सकारात्मक र आसावादी बनाउँदै व्यवहार रचनात्मक बनाउन शिक्षाले मुख्य भूमिका खेल्नुपर्छ। मतलब हामी भविष्यमुखी शिक्षा र सामाजिक, प्रशासनिक, न्यायिक र आर्थिक व्यवस्थाहरूबाट निर्देशित भइरहनु पर्छ। हाम्रा क्षमताहरू देशको समृद्धिमा प्रयोग गरिरहनु पर्छ।

हामीले बुझ्नुपर्छ, “सार्वजनिक शिक्षा स्तरीय, सर्वसुलभ र समावेसी बनाउन नसक्दासम्म नेपालको शिक्षा व्यवस्था र शिक्षालयहरूमाथि प्रश्न उठिरहन्छ। अनि नयाँ पुस्ता देशमा आफ्नो भविष्य नदेखेर परदेशिन रमाइरहन्छ।” त्यसैले हामीले शिक्षा के हो ? यसलाई कसरी असल बनाउन सकिन्छ ? कस्तो शिक्षालय सफल मानिन्छ ? भन्ने प्रश्नहरूमा स्पष्ट हुनुपर्छ। भनिन्छ, “असल शिक्षा र सफल शिक्षालय हाम्रो समाज र देश निर्माणको पहिलो आधारभूत आवश्यकता हो किनभने यसले विद्यार्थीहरूको प्रगतिमा मद्दत गर्न ज्ञान र सीप दिन्छ र अनुकुल वातावरण पनि बनाइदिन्छ। अनि ति विद्यार्थीहरूले समाज र राष्ट्रको प्रगतिमा प्रत्यक्ष योगदान गर्छन्।” तर हाम्रो आजको शिक्षाले न नागरिकको प्रगतिका लागि ज्ञान, सीप र वातावरण दिन्छ न त नागरिकहरूको मनस्थिति नै देशको प्रगतिमा योगदान गर्ने बनाएको छ। जसका कारणले समग्रमा देश पछाडि परेको छ।

शिक्षा असल बनाउन शिक्षाको दर्शन, राष्ट्रिय उद्देश्य र नीति, शैक्षिक जनशक्ति, पाठ्यक्रम, शिक्षालयको क्षमता र समुदाय वा राष्ट्रको प्राथमिकताले मुख्य भूमिका खेलेको हुन्छ। त्यस्तै शिक्षालयहरू सफल बनाउन शिक्षाविद्, अभिभावक, समुदाय र राज्यको लगानी, संलग्नता र सहकार्यले सहयोग गरिरहेको हुन्छ। हाम्रो संवैधानिक व्यवस्थाले शिक्षाविद्, अभिभावक, समुदाय र राज्यको लगानी गर्ने, संलग्नता र सहकार्य गर्ने वातावरणमा भाँजो हालेको छ। शिक्षामा अभिभावकहरूको लगानी निरूत्साहित गरिएको छ। जसले गर्दा न शिक्षा राम्रो बन्न सकेको छ न त शिक्षालयहरू नै सफल बनेका छन्।

यहाँ हामीले बुझ्नुपर्छ, असल शिक्षा र सफल शिक्षालयहरूले समावेसी र समतामूलक गुणस्तरीय शिक्षा र सबैका लागि जीवनपर्यन्त सिकाइका अवसरहरू उपलब्ध गराउने क्षमता राखेको हुन्छ। विद्यार्थीहरूको भाषिक, सांस्कृतिक र पारिवारिक पृष्ठभूमि, उनीहरूमा सिक्ने क्षमता र शैली अनि शारीरिक बनौटमा भएका भिन्नताहरूलाई शिक्षालयहरूले बुझेका हुन्छन् र आवश्यकता र सन्दर्भअनुसार त्यसको प्रयोग गरेर सिकाइलाई दिगो र जीवनोपयोगी बनाउन सहयोगी भइरहन्छन्। के हाम्रा शिक्षालय अर्थात विद्यालयहरूले यी मान्यताहरूलाई आत्मसाथ गरेर पठनपाठन गराएका छन् त ? छैनन् किनभने विद्यार्थी केन्द्रीत शिक्षण गतिविधिहरू हुने गरेका छैनन्।

राम्रा विद्यालय र राम्रा शिक्षकले विद्यार्थीको घरको भाषा, ज्ञान र अनुभव सबै सिकाइका लागि महत्त्वपूर्ण श्रोत र आधार हुन् भनेर बुझेका हुन्छन्। उनीहरूले खासगरी सुरूका कक्षाहरूमा विद्यार्थीहरूले पाठको अर्थ बुझ्न सकुन् भनेर पढाइमा विद्यार्थीको घरको भाषा र सन्दर्भहरूको प्रयोग गर्ने वातावरण बनाउँछन्। विद्यार्थीलाई नयाँ धारणा बुझ्न उनीहरूका आफ्ना भाषा, ज्ञान र अनुभव प्रयोग गर्ने अवसर दिन्छन्। यसबाट विद्यार्थीमा सिकाइ अर्थपूर्ण र उत्साहपूर्ण हुन्छ। विद्यार्थीहरूमा आत्मविश्वास बढ्छ र बलियो शैक्षिक आधार निर्माण गरेर उनीहरूलाई जीवनपर्यन्त सिकारू बनाउँछ भन्ने यथार्थ राम्रा विद्यालयहरूले बुझेका हुन्छन्। तर नेपालमा राम्रा भनिने विद्यालयहरूले विद्यार्थीहरूको घरको भाषा प्रयोग गर्दा विद्यार्थीलाई दण्डित गर्ने गरेका छन्।

आज हामीले असल शिक्षा र सफल शिक्षालय कसरी बन्छ भन्ने प्रश्नमा केन्द्रीत भएर उत्तर खोज्नुपर्ने भएको छ। यसका साथै प्राप्त सही उत्तरहरूलाई व्यवहारमा उतार्ने क्षमता देखाउनु पर्नेछ। यदि तर गरेर बहस गर्नुको कुनै तुक छैन्। त्यसैले सबै मुख्य सरोकारवालाहरूले आ(आफ्नो क्षमतानुसार असल शिक्षा र सफल शिक्षालय बनाउन इच्छाशक्तिसहित योगदान गर्नुपर्ने समय भएको छ। हामीले राजनीतिक र प्रशासनिक नेतृत्व, शिक्षाविद्, शिक्षक, अभिभावक र विद्यार्थीहरूलाई सरोकारवालाहरू हुन् भनेर बुझ्नुपर्छ। यीमध्ये राजनीतिक र प्रशासनिक नेतृत्व अनि शिक्षाविद्हरूले असल शिक्षा र सफल शिक्षालय बनाउन सबभन्दा बढी भूमिका निर्वाह गर्नुपर्छ किनभने राजनीतिक र प्रशासनिक नेतृत्वमा नीति र विधि बनाउने अनि लगानी तय गर्ने अधिकार हुन्छ भने शिक्षाविद्हरूमा बाटो देखाउने क्षमता हुन्छ। त्यही तय भएको नीति, विधि र बाटोबाट लगानीलाई परिणाममुखी बनाउन शिक्षकहरूको मुख्य भूमिका हुन्छ। अनि अभिभावकहरूको सक्रिय सहयोगी भूमिका आवश्यक हुन्छ। विद्यार्थीहरूले सक्रिय सिकाइमा आफूलाई समर्पित गर्नुपर्छ।

यस प्रसँगलाई लिएर सेतोपाटीमा ‘कसरी बनाउन सकिन्छ सफल विद्यालय ?’ शीर्षकमा जगतप्रसाद रिजालले दिनुभएको विचार र सुझावहरू सान्दर्भिक देखिन्छन्। रिजाल लेख्छन्, “विद्यार्थीको मनोविज्ञान, रूचि र क्षमता पहिचान गरेर त्यसअनुसारको ज्ञान दिन र सीप सिकाउन नसक्ने विद्यालय सफल हुँदैन्। सरोकारवालाहरूबीच द्वन्द्व हुने, अनुचित रूपमा राजनीतिक वा अन्य हस्तक्षेप हुने अवस्थामा पनि विद्यालय सफल हुन सक्दैन। राजनीतिक वा कुनै हस्तक्षेपबाट आएको व्यक्तिको नेतृत्व छ भने पनि विद्यालय सफल हुन मुस्किल पर्छ।” रिजाल अगाडि लेख्छन्, “स्पष्ट नीति-योजना, समयानुकुल परिमार्जन र नेतृत्वको दृढ संकल्प नै विद्यालय सफल बनाउने मूलमन्त्र हो।”

अमेरिकाको राष्ट्रिय विद्यालय बोर्ड संघले विद्यालय सफल बनाउन यी पक्षहरूलाई ख्याल गर्नुपर्ने सुझावहरू दिएको छ।

१. सबै बालबालिकाहरूमा केन्द्रीत पठनपाठन

२. विद्यालय समतामूलक र सबै पहुँच सुनिश्चित गर्ने प्रतिबद्धता

३. विद्यार्थीहरूको परिवार तथा समुदायको संलग्नता

४. प्रधानाध्यापक, शिक्षक, विद्यालय सल्लाहाकार, समुदायका सदस्य तथा अन्य पक्षहरूबीच राम्रो समन्वय

५. सरोकारवाललाहरूबीच सहकार्य गर्ने संस्कृति

अमेरिकी राष्ट्रिय विद्यालय बोर्ड संघको सुझावहरूलाई लिएर यस संघका कार्यकारी निर्देशक थोमस जे। जेन्टलेज भन्छन्, “अमेरिकामा सार्वजनिक शिक्षाको सफलतामा आजको योगदान भनेको स्थानीय नेतृत्व अर्थात शिक्षकहरू, प्रशासकहरू, विद्यालयका समितिहरू र शिक्षाविद्हरू नै हुन।” उनी अगाडि भन्छन्, “अमेरिकामा सार्वजनिक शिक्षा पहिले भन्दा राम्रो भइरहेको छ। तर यसमा अझै सुधारको खाँचो छ।”

अन्तमा विद्यार्थीहरूको शैक्षिक उपलब्धी राम्रो बनाउन असल र प्रभावकारी सार्वजनिक विद्यालयहरू चाहिन्छ। यस लेखकका विचारमा यसका लागि मुख्यतयाः निम्न विशेषताहरू भयो भने विद्यालयहरू असल र प्रभावकारी मानिन्छन्।

१. शिक्षालयहरूको सुस्पष्ट लक्ष्य र दिशा

२. क्षमतावान गुणस्तरीय नेतृत्व

३. विद्यार्थी र शिक्षकहरू सिक्ने र सिकाउने उच्च अपेक्षा

४. विद्यार्थीहरूको प्रगतिका बारेमा नियमित मूल्यांकन र त्यसको सही अभिलेख राख्ने पद्धति

५. विद्यार्थीहरूको मनोविज्ञान, रूचि र क्षमताको पहिचान

६. सुरक्षित र व्यवस्थित विद्यार्थीमैत्री विद्यालयको संरचना

७. अभिभावक तथा समुदायको सकारात्मक र रचनात्मक चासो र संलग्नता