१ जेष्ठ २०८३, शुक्रबार 1778829925
Banner

जीबी राईविरुद्ध इन्टरपोलमा डिफ्युजन नोटिस जारी

काठमाडौँ । सहकारी ठगी प्रकरणमा मुछिएका जीबी राईविरुद्ध इन्टरपोलबाट डिफ्यूजन नोटिस जारी भएको छ। राईविरुद्ध डिफ्युजन नोटिस जारी गर्न इन्टरपोलको महासचिवालयलाई अनुरोध गरिएको नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी भीमप्रसाद ढकालले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय, कास्कीको अनुरोधमा नेश्नल सेन्ट्रल ब्यूरो (एनसीबी) काठमाडौँले इन्टरपोललाई डिफ्यूजन नोटिस जारी गर्न एक हप्ता अघि नै पत्राचार गरेको थियो। सोही आधारमा उक्त नोटिस जारी भएको ढकालले बताए ।

अनुसन्धानमा रहेका वेला फरार भएका व्यक्ति खोज्न डिफ्यूजन नोटिस जारी हुन्छ। राई मलेसियामा रहेको आशंका गरिएको छ। सहकारीका बचतकर्ताले जम्मा गरेको रकम हिनामिना गरेको आरोपमा कोषाध्यक्ष कुमार रम्तेललाई भने प्रहरीले पक्राउ गरिसकेको छ।

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा प्रहरीले जीबीसहित १९ जनालाई पक्राउ पुर्जी जारी गरेको छ। सहकारीको १ अर्ब ११ करोड ३४ लाख ४३ हजार हिनामिना गरेको आरोप छ।