८ मंसिर २०८१, शनिबार 1732415269
Banner

नेपालले बिआरआईबाट लाभ लिन सक्छ : शंकर पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले नेपालले बिआरआईबाट लाभ लिन सक्ने प्रशस्त सम्भावना रहेको बताउनु भएको छ ।

आज काठमाडौंमा आयोजित चिनियाँ कम्युनिस्ट पार्टी र नेपाली कम्युनिस्ट पार्टीहरूबीचको छलफलमा उहाँले नेपालले बिआरआईबाट लाभ लिन सक्ने बताउनु भएको हो ।

बिआरआईले नेपाल र चीनलाई सडक, रेल, हवाई तथा सञ्चार प्रविधिबाट जोड्ने उद्देश्य राखेको बताउँदै ठुला पूर्वाधार विकासको जग हाल्दै गरेको नेपालका लागि हिमालय वारपार बहुपक्षीय सम्पर्क सञ्जाललाई प्राथमिकतामा राखेर अघि बढाउनुपर्ने उहाँको भनाइ छ ।

बिआरआइका सन्दर्भमा नेपालले गरेको सहमतिकै सन्दर्भमा परियोजना पहिचान गर्ने कुराहरुमा हामी पछाडि परेको उहाँले बताउनुभयो । नेपाल सरकारले पनि यो विषयलाई प्राथमिकताका साथ अघि बढाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।

नेपाल र चीनकाबीचमा उच्चस्तरमा भएका भ्रमणहरुको आदानप्रदानले दुई पक्षिय सम्बन्धलाई बलियो बनाएको उहाँको धारणा छ । चिनियाँ विकास परियोजना बेल्ट एण्ड रोड इन्सेटिभको अंग भइसकेको सन्दर्भमा त्यसअन्तर्गतका परियोजनाहरु छिटो भन्दा छिटो कार्यान्वयन गर्न नेपाल सरकार तत्पर हुनुपर्ने उहाँको भनाइ छ ।

उहाँले कोभिड १९ का बेलामा बन्द भएका उत्तरी सीमानाकाहरु नियमित सुचारु गर्न उहाँले आग्रह गर्नुभयो । महासचिव पोखरेलले नेपाल र चीन बीचको भूगोललाई चुनौती नभई अवसरका रुपमा लिएर अघि बढ्न, सबै नाकालाई आवागमन र व्यापारका लागि सहज बनाउनसके दुई पक्षिय सम्बन्धलाई फाराकिलो बनाउने बताउनुभयो ।