८ मंसिर २०८१, शनिबार 1732415867
अर्थ

उद्योग वाणिज्य महासंघका अध्यक्ष ढकालको यूएई र मंगोलियाका राजदूतसँग भेट

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले संयुक्त अरब इमिरेट्स (यूएई) र मंगोलियाका राजदूतसँगको भेटमा नेपालमा लगानी प्रवर्धन गर्न आग्रह गरेका छन् । ढकालले बुधबार यूएईका राजदूत अब्दुल्ला अल शम्सी र नेपालसमेत हेर्ने जिम्मेवारी पाएका भारतका लागि मंगोलियाका राजदूत गानबोल्ड डम्बाजाभसँग भेटवार्ता गरेका हुन् ।

नेपाल र यी दुई राष्ट्रबीचको द्विपक्षीय व्यापार र लगानी सम्बन्धलाई अभिवृद्धि गर्ने विषयमा छलफल भएको थियो । यही वैशाख २८ र २९ गते काठमाडौंमा आयोजना हुने नेपाल लगानी सम्मेलनमा सहभागी हुन सम्बन्धित देशलाई अध्यक्ष ढकालले आग्रह गरे ।

यूएईका राजदूतसँगको भेटमा अध्यक्ष ढकालले दुवै देशका दूतावासको सहयोगमा नोभेम्बरमा दुबईमा आयोजना भएको नेपाल–दुबई बिजनेस समिटको सफलताको कामना गरे । उनले नेपालमा लगानीको प्रचुर सम्भावना रहेको पनि राजदूतलाई जानकारी गराए ।

भेटमा अब्दुल्ला अल शम्सीले नेपाल र यूएईबीच द्विपक्षीय लगानी सम्झौताको सम्भावनाबारे धारणा राखे ।

त्यसैगरी मंगोलियाका राजदूतसँगको भेटमा अध्यक्ष ढकालले आपसी व्यापार र लगानीका अवसरका विषयमा कुराकानी गरेका थिए । अध्यक्ष ढकालले नेपालमा जलविद्युत् र पर्यटन क्षेत्रमा लगानीका सम्भावनाका बारेमा जानकारी गराए ।