काठमाडौं । रौतहटको ईशनाथ नगरपालिका–७, खापडचोकस्थित शिवम् मनी ट्रान्सफरबाट पैसा लुटपाट गर्न आएका भारतीय नागरिकले शुक्रबार सञ्चालकको कन्चटमा गोली प्रहार गरेका छन् । गोली प्रहारबाट सो मनी ट्रान्सफरका सञ्चालक २६ वर्षीय नितेश साह गम्भीर घाइते भएका रौतहट प्रहरी प्रमुख एवं एसपी महेन्द्र श्रेष्ठले जानकारी दिए ।
उपचारका निम्ति उनलाई तत्काल स्थानीय अस्पतालमा पठाइएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि वीरगन्जस्थित न्युरो अस्पतालमा पठाइएको उनले बताए । गोली प्रहार गर्ने भारत, बिहार प्रदेशको मोतिहारी जिल्लास्थित पूर्वी चम्पारणका मुनेशकुमार यादव, राजाकुमार पासवान र चन्द्रभान सिंह पक्राउ परेका छन् । उनीहरूका साथबाट एकथान कटुवा पेस्तोल बरामद गरिएको एसपी श्रेष्ठले जानकारी दिए ।
दिउँसो करिब साढे १ बजेको घटनापछि भाग्दै गर्दा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको थियो ।