१३ मंसिर २०८१, बिहिबार 1732786314
राजनीति

पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १४औँ स्मृति दिवस मनाईदै

काठमाडौं । पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १४औँ स्मृति दिवस आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ। नेपालमा शान्ति स्थापनाका लागि कोइरालाले पुर्‍याउनुभएको योगदानको स्मरण गर्दै आज नेपाली कांग्रेस, यसका भ्रातृ एवं शुभेच्छुक संस्थाले विविध कार्यक्रम आयोजना गरी उहाँको १४ औँ स्मृति दिवस मनाउँदै छन् ।

विसं २०५९ असोज १८ गते तत्कालीन राजा ज्ञानेन्द्रले जननिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवालाई अपदस्थ गरी आफू अनुकुलका प्रधानमन्त्री नियुक्त गर्न थालेपछि राजतन्त्रप्रति जनताको मोहभङ्ग हुन थालेको थियो। यसपछि भएका आन्दोलनको नेतृत्व गिरिजाप्रसादले गरे।

विसं २०६१ माघ १९ गते दलमाथि प्रतिबन्ध लगाउँदै राजा ज्ञानेन्द्र आफैँ मन्त्रिपरिषद्को अध्यक्ष बनेपछि कोइरालाले सबै दललाई एकीकृत गर्दै आफ्नै नेतृतवमा पूर्ण लोकतन्त्रको स्थापनाका लागि आन्दोलनको नेतृत्व गरेका थिए।

कोइरालाकै नेतृत्वमा विसं २०६३ वैशाख ११ गते राजा ज्ञानेन्द्र आन्दोलनरत सात दलको मार्गचित्र अनुरुप विघटित प्रतिनिधिसभा पुनस्र्थापना गर्न सहमत भएका थिए। जसलाई नेपाली म्याग्नाकार्टा पनि भनिन्छ।

आन्दोलन सफल भएपछि उनी चौँथोपटक प्रधानमन्त्री बने। पुनस्र्थापित प्रतिनिधिसभाले २०६३ जेठ ४ गते राजाको सबै अधिकार कटौती गर्दै आलङ्कारिक राजाका रुपमा सीमित गरेको थियो।

कोइरालाको २०६६ चैत ७ गते निधन भएको थियो।