२ कार्तिक २०८१, शुक्रबार 1729263890
Banner

मुसिकोट नेपानेमा बोलेरो गाडी हुँदा तीनको मृत्यु, तीन जना घाइते

सुर्खेत । रुकुम पश्चिमको मुसिकोट नगरपालिका–१ नेपानेमा बोलेरो गाडी दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।

मुसिकोट नगरपालिका–१ खलङ्गाबाट बाँफिकोट गाउँपालिकाको –४ छिनखेत जाँदै गरेको वलर्ड लिङ्क कम्युनिकेसनको डबल क्याप बोलेरो आइतबार बेलुकी साढे ९ बजे दुर्घटना भएको थियो।

गाडी चालक सुर्खेतको गुर्भाकोट नगरपालिका– ८ मेहलकुनाका ३० वर्षीय धर्मेन्द्र श्रेष्ठबर्दियाको ठाकुरबाबा नगरपालिका– ५ कालीगौडीका २७ वर्षीय सौगात विक र सुर्खेत बराहताल गाउँपालिका–५बड्डीचौरका १९ वर्षीय जितबहादुर कार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रवक्ता प्रहरी निरीक्षक बखत शाहीले जानकारी दिए।

उहाँका अनुसार घटनास्थलबाट उद्धार गरेर जिल्ला अस्पताल सल्ले ल्याइएका उनीहरूलाई लगत्तै जिल्ला अस्पतालका डाक्टरले मृत घोषित गरेका थिए ।
घाइते हुनेमा रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका –४ छिनखेतका १७ वर्षीय सुजल विक, बर्दियाको ठाकुरबाबा नगरपालिका– ५ बनकट्टीका २६ वर्षीय दिलीप थापा र बर्दियाको ठाकुरबाबा नगरपालिका –५ कालीगौडीका २७ वर्षीय टीकाराम खनाल रहेको प्रवक्ता शाहीको भनाई छ । उनीहरू मध्य सुजल र टीकारामको अवस्था गम्भीर छ । उनीहरूलाई जिल्ला अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगन्ज रिफर गरिएको शाहीले बताउनुभयो । दिलीप भने बोल्न सक्ने अवस्थामा रहेको र जिल्ला अस्पतालमै उपचार भइरहेको छ।

नेट जडानको काम गरिरहेका उनीहरू बाँफिकोटको छिनखेत जाँदै थिए । बाँफिकोट क्षेत्रमा फाइबर नेट विस्तार गरिरहेका उनीहरू छिनखेतमा बस्दै आएका थिए । प्रहरीका अनुसार गाडी सडकबाट करिब २०० मिटर भन्दा तल खसेको थियो ।