४ आश्विन २०८१, शुक्रबार 1726853143
अर्थ

पाँचतारे मेरियट होटलले गर्यो २२ करोड नाफा

काठमाडौं । व्यवसायिक घरना एमएस ग्रुपको पाँचतारे प्रिमियम होटल मेरियट काठमाडौं गत आर्थिक वर्षदेखि नाफामा गएको छ । सन् २०२३ मा मेरियटले २१ करोड ७० लाख रुपैयाँ खुद नाफा गरेको छ । होटलको व्यापार बढेपछि खुद नाफामा वृद्धि भएको हो । सन् २०२२ मा होटल ३ करोड नोक्सानमा थियो । यस्ते मेरियटको ग्रस क्यास एकरल्समा सुधार आइ ४० करोड ९० लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष ग्रस क्यास एकरल्स १२ करोड ६० लाख रुपैयाँ थियो ।

यो वर्षको ९ महिनामा होटलको व्यापार बढेर १ अर्ब ३३ करोड रुपैयाँ पुगेको मेरियटले जनाएको छ । यसबीचमा होटलको अकुपेन्सी रेट पनि बढेर ७० प्रतिशत पुगेको छ । पर्यटक आगमनमा सुधार आएपछि होटलको आम्दानीमा बढोत्तरी आएको हो । गत वर्ष पनि मेरियटको व्यापारमा उछाल आएको थियो । एक वर्षमा होटलको व्यापार ६६ प्रतिशत बढेर १ अर्ब ७० करोड २० लाख रुपैयाँ पुगेको छ । २०२२ मा मेरियटले १ अर्ब २ करोड ४ लाख रुपैयाँ व्यापार गरेको थियो । एक वर्षमा होटलको आम्दानी ६७ करोड ८० लाख रुपैयाँ बढेको सार्वजनिक गरिएको वित्तीय विवरणमा उल्लेख छ । अकुपेन्सी रेट बढेपछि होटलको आम्दानीमा उछाल आएको हो ।

गत वर्ष होटलको अकुपेन्सी रेट बढेर ६७ प्रतिशत पुगेको थियो । यो वर्ष ३ प्रतिशत बढेर ७० प्रतिशत पुगको होटलले जनाएको छ । २०२२ मा होटलको अकुपेन्सी रेट ५३ प्रतिशत मात्र थियो । यस्तै मेरियटको औसत रुम रेट बढेर १७ हजार १०४ रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष होटलको रुम रेट औसत १३ हजार ५ सय ७२ रुपैयाँ थियो ।

२०२१ मा होटलले २९ करोड ८० लाख रुपैयाँ व्यापार गरेको थियो । एभरेष्ट हस्पिटालिटी एन्ड होटल्स लिमिटेडका अनुसार २०२० मा होटलले ८३ करोड ७० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । चार वर्षको वित्तीय विवरण हेर्दा होटलको व्यापार बढ्दै गएको छ । होटलले २ अर्ब १० करोड ८८ रुपैयाँ ऋण रहेको छ । दीर्घकालिन ऋण २ अर्ब र अल्पकालिन ऋण १० करोड रुपैयाँ छ । अघिल्लो वर्ष होटलको ऋण २ अर्ब ८३ करोड रुपैयाँ थियो । होटलले ऋण पनि घटाउँदै लगेको छ ।

एभरेष्ट हस्पिटालिटीको संसाधन प्रवद्र्धक समूह र विश्वव्यापी रूपमा प्रतिष्ठित होटल ब्रान्ड मेरियटसँगको सम्बन्ध छ । जसले दीर्घकालीन, रणनीतिक रूपमा मार्केटिङ र होटल सञ्चालनको सन्दर्भमा कम्पनीलाई फाइदा पुग्ने सम्भावना छ । एभरेष्ट हस्पिटालिटीले अन्तर्राष्ट्रिय होटल ब्रान्डका लागि मेरियट इन्टरनेसनल इंकसँग होटल व्यवस्थापन सम्झौता गरेको छ । मेरियट इन्टरनेसनल एक अमेरिकी आधारित निगम हो जसले सञ्चालन, फ्रान्चाइजी र लाइसेन्स बेच्ने गर्दछ । मेरियटका विश्वभरी ३० होटल ब्रान्डहरू छन् । जसमा ८ हजार बढी पोपर्टी छन् । १ सय ३९ मुलुकमा मेरियटका १४ लाख २३ हजार ४४ कोठा छन् ।

इजाजतपत्र सम्झौताअन्तर्गत मेरियट इन्टरनेसनललाई समग्र सञ्चालनमा सहयोग गर्नेछ । मेरियट मानक, प्राविधिक सहयोग, व्यावसायिक प्रशिक्षण र विकास, ग्राहक अनुसार होटलको मार्केटिङ सेवाहरू रहेका छन् । यी सेवाहरूले कम्पनीलाई स्थापनाको थप लाभहरू प्रदान गर्ने सम्भावना छ ।

सेवा, ठूलो ग्राहक आधार, मार्केटिङ क्षमता र पहिले नै व्यापक ब्रान्ड नाम पहिचान होटल अतिथि ड्राइभ गर्न सक्षम छ । विश्वव्यापी ब्रान्ड मेरियटसँग आबद्ध हुनुले एभरेष्ट हस्पिटालिटीलाई व्यापारमा फाइदा पुग्नेछ । होटल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ४ किलोमिटर दुरी नक्सालमा छ । होटल पब्लिक लिमिटेड कम्पनीमा रुपान्तरण भइसकेको छ । होटलमा २ सय १४ वटा कोठाहरु छन् । एभरेष्ट हस्पिटालिटीको व्यवस्थापन अन्तर्राष्ट्रिय चेन होटल ब्रान्ड मेरियट इन्टरनेसनल इंकले गरेको छ।

होटलको अध्यक्ष सुमितकुमार अग्रवाल रहेका छन् । उनी भगवती स्टिल इन्डष्ट्रिजका अध्यक्ष पनि हुन् । उनको अध्यक्षतामा ७ जना सञ्चालक छन् । यस्तै गौरव अग्रवाल एभरेष्ट हस्पिटालिटीका प्रवन्ध सञ्चालक छन् । गौरव एमएस ग्रुपका सञ्चालक पनि हुन् । एमएस ग्रुप स्टिल, कागज, चिनी, केमिकल, रियलस्टेट, होटल, बैंक तथा बिमामा लगानी रहेको छ । एमएस ग्रुपको लामो व्यवसायिक अनुभव छ । ग्रुपले सन् २०१३ मा एभरेष्ट हस्पिटालिटीको स्थापना गरेको हो । होटल पूर्वाधार १।३५ एक्कर्ड जमिनमा छ ।

यस्तै व्यावसायिक घराना एमएस ग्रुपले पनि पछिल्लो समय होटलमा आक्रमक रुपमा लगानी बढाइरहेको छ । ग्रुपले राजधानीको नक्सालमा पाँचतारे मेरियट होटल सञ्चालन गरिरहेको छ ।

ग्रुपको लगानीमा ठमेलमा पनि फेयरफिल्ड म्यारियट होटल पनि सञ्चालनमा छ । एमएसले कमलादीमा चारतारे होटल बनाइरहेको छ । होटल पूर्वाधार निर्माण भइरहेको र ढिलोमा ११ महिनाभित्र होटल सञ्चालनमा आउने ग्रुपका अध्यक्ष शशिकान्त अग्रवालले बताए ।

१ सय कोठा रहेको होटल बनाउन डेढ अर्ब रुपैयाँ लगानी हुने उनले जानकारी दिए । म्यारियट अन्तर्गतकै मोक्सी ब्राण्डमा होटल सञ्चालन हुने भएको छ । होटल पूर्वाधार २ रोपनी क्षेत्रफलमा रहनेछ । होटल कमलादीको प्रज्ञा भवनको ठ्याक्कै पछाडी निर्माणाधीन अवस्थामा छ । अहिले होटल भित्रको काम फिनिसिङ हुँदै छ । होटलमा युवा पुस्तालाई लक्षित गरिएको छ । होटल युवा माहोलको आधारमा निर्माण गर्ने उनको भनाई छ ।

होटल गीत संगीतको मज्जा लिन र दिनभरी रमाईलो गर्न बनाउन लागेको हो । युवा पुस्तालाई बढी फोकस गरेर कमलादीमा नयाँ होटल बनाउन लागिएको अग्रवालले जानकारी दिए ।