४ आश्विन २०८१, शुक्रबार 1726825052
Banner

टीआरसी विधेयक आजै पास गरेर संसदमा पठाउने तयारी

काठमाडौं । संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमाथि छलफल गर्न आज संसद्‌को कानुन तथा मानवअधिकार समितिको बैठक बस्दैछ । विधेयकलाई निष्कर्षमा पुर्‍याउन आज ११ बजे बैठक डाकिएको छ ।

२५ फागुन २०७९ संसदमा दर्ता भएको बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप ऐनलाई संशोधन गर्न बनेको विधेयक कानुन न्याय तथा मानवअधिकार समितिमा विचाराधीन छ । कार्यदलले जुटाएको सहमति कानुन मन्त्रालयले पेश गर्नेछ । समितिमा छलफल सकेर बिहीबार नै पास गर्ने तयारी सरकार र दलहरूको छ । विधेयकमा सम्बन्धमा नमिलेका ४ वटा विषयमा कार्यदलले गरेको सहमति शीर्ष नेताले पनि बुधबार अनुमोदन गरेका हुन् । सहमति जुट्न नसकेको विषयमाथि छलफल र सहमति गर्न असार १३ गते कांग्रेस, एमाले र माओवादीका नेता सम्मिलित ३ सदस्यीय कार्यदल गठन गरेको थियो ।

कार्यदलले चारवटै विवादित विषयमा सहमति जुटाएर बुधबार प्रतिवेदन बुझाएको छ । २०७९ फागुन २५ मा प्रतिनिधिसभामा दर्ता भएर १५ महिनादेखि समितिमा अलपत्र विधेयकमा प्रमुख तीन दलको कार्यदलले सहमति जुटाएर शीर्ष नेतालाई प्रतिवेदन हस्तान्तरण गरेको थियो।मुख्य विवादित विषयमा सहमति भएसँगै संसदको चालू अधिवेशनबाटै यो विधेयक पारित गर्ने तयारी गरिएको छ।