काठमाडौं । विश्वभर रहेका नेपालीहरूलाई एकताबद्ध गर्ने उद्देश्यले स्थापना गरिएको गैरआवासीय नेपाली संघ (एनआरएनए)को १२ औं महाधिवेशनबाट पोर्चुगल निवासी भीमसेन थापा युवा उपाध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् ।
निर्वाचनपछि युवा उपाध्यक्ष थापाले महाधिवेशन सफल बनाउन योगदान पुर्याउने सहभागी प्रतिनिधिहरू, नेपाल सरकार, अग्रज नेतृत्व, शुभेच्छुक तथा सञ्चार जगतप्रति हार्दिक धन्यवाद व्यक्त गरे । “मलाई यो महत्वपूर्ण जिम्मेवारीमा पुर्याई विश्वास गर्नुहुने सम्पूर्णप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछु,” उनले भने ।
उनले आफूलाई प्राप्त जिम्मेवारीलाई गम्भीर सामाजिक तथा राष्ट्रिय दायित्वका रूपमा लिएको उल्लेख गर्दै उक्त विश्वासलाई परिणाममुखी कार्यमार्फत प्रमाणित गर्ने अठोट व्यक्त गरे ।
“विश्वभर छरिएका नेपाली युवाहरूलाई एकताबद्ध गर्दै उनीहरूको क्षमता, सीप र अनुभवलाई मातृभूमिसँग जोड्ने मेरो प्राथमिकता हुनेछ,” उनले भने, “नेपाली युवा शक्तिलाई अन्तर्राष्ट्रिय स्तरमा सशक्त बनाउँदै उनीहरूको हक, अधिकार सुनिश्चित गर्न म सक्रिय रूपमा लाग्नेछु ।”
उनले प्रवासी नेपाली युवामा राष्ट्रिय पहिचान, भाषा, संस्कृति र मूल्यप्रतिको लगाव बढाउने, भावी पुस्तामा नेपालीपनप्रति गर्व गर्ने वातावरण निर्माण गर्ने तथा नेपाल र डायस्पोराबीचको सम्बन्धलाई अझ सुदृढ बनाउने दिशामा काम गर्ने प्रतिबद्धता व्यक्त गरे । साथै, युवा लक्षित नीतिगत पहल, रोजगारी, उद्यमशीलता र सीप विकासका कार्यक्रममार्फत प्रवासी नेपाली युवाको सशक्तीकरणमा जोड दिने थापाले बताए ।


