४ आश्विन २०८१, शुक्रबार 1726871666
Banner

डेंगु सङ्क्रमण बढेपछि तनहुँका चार विद्यालय बन्द

तनहुँ। डेंगु सङ्क्रमणको बिरामी बढेपछि नियन्त्रणको प्रयास स्वरूप आँबुखैरेनीका गाउँपालिकाका चार विद्यालयहरू बन्द गरिएको छ । आँबुखैरेनी बजार र आसपासका क्षेत्रमा डेङ्गुका बिरामी बढ्दै गएकाले विद्यालय बन्द गरिएको आँबुखैरेनी गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख अगमराज उपाध्यायले जानकारी दिनुभयो ।

उपाध्यायका अनुसार वडा नम्बर ३ मा रहेका रामशाह माध्यमिक विद्यालय, मर्स्याङ्दी बालज्योती अङ्ग्रेजी बोडिङ स्कुल, बाल शिक्षा सदन बोर्डिङ स्कुल र नवबुद्ध अङ्ग्रेजी बोर्डिङ स्कुल अर्को सूचना नभए सम्मको लागि बन्द गरिएको हो । 

आँबुखैरेनीमा मात्रै करिब ४५० जनामा सङ्क्रमण भएकोले लामखुट्टेले फुल पार्ने ठाउँमा ‘खोजौँ र नष्ट गरौँ’ भन्ने नारा सहित टोलटोल, बस्ती बस्तीमा अभियान सञ्चालन गरिएको उपाध्यायले जानकारी दिनुभयो ।  

डेंगुको सङ्क्रमण एडिज जातीको लामखुट्टेबाट मात्र फैलने, सफा पानीमा फूल पार्ने, लार्भा हुर्काउने भएकाले पानी जम्न नदिएर वासस्थान ध्वस्त बनाएर लामखुट्टेलाई नष्ट गर्नुपर्ने चिकित्सक बताउँछन् । बेस्सरी टाउको दुख्नु, आँखाको गेडी दुख्नु, शरीरमा डाबर आउनु, अरुचि हुनु, जोर्नी तथा मांसपेशी बेस्सरी दुख्नु, पेट तथा आन्द्रामा गडबडी हुनु पनि डेङ्गुको लक्षण भएको उपाध्याय बताउनुहुन्छ । 

बिरामीको सङ्ख्यामा वृद्धि भएको अवस्थामा विद्यालय बन्द गर्न र रोकथाम तथा नियन्त्रणका सम्बन्धमा पूर्व तयारी विशेष सतर्कता अपनाउन आग्रह गरिएको आँबुखैरेनी गाउँपालिकाका शिक्षा शाखा प्रमुख निर्मला कुँवरले जानकारी दिनुभयो । उपचारमा समस्या भएमा स्वास्थ्य बिमा नभएका विद्यार्थीहरूलाई आँबुखैरेनी अस्पतालमा निःशुल्क उपचारको व्यवस्था गरिएको कुँवरले जानकारी दिनुभयो ।