काठमाडौं । नेपालमा एकछत्र राज गरिरहेको बहुराष्ट्रिय कम्पनी सूर्य नेपाल प्रालिको चुरोट व्यापार ७.३१ प्रतिशत बढेको छ । गत वर्ष सूर्य नेपालले २८ अर्ब ९९ करोड रुपैयाँको विभिन्न ब्राण्डको चुरोट व्यापार गरेको छ ।
गत वर्ष सूर्य नेपालले १ अर्ब ९७ करोड ६० लाख रुपैयाँ व्यापार बढाएको सार्वजनिक गरिएको वित्तीय विवरणमा उल्लेख छ । अघिल्लो वर्ष चुरोट व्यापार १०.२९ प्रतिशत बढेर २७ अर्ब १ करोड रुपैयाँ कारोबार गरेको थियो । २०२१ मा उद्योगले २४ अर्ब ४९ करोड रुपैयाँको चुरोट व्यापार गरेको थियो ।
२०२० मा उद्योगको चुरोट व्यापार २४ अर्ब ४७ करोड रुपैयाँ थियो । यस्तै २०१९ मा २५ अर्ब १३ करोड ७० लाख र २०१८ मा २४ अर्ब २२ करोड रुपैयाँको व्यापार गरेको थियो ।
नेपालको बजारमा ‘राज’ गरेको सूर्य नेपालको चुरोट व्यापार बढ्दै गएको सार्वजनिक गरेको वित्तीय विवरणले देखाएको छ । अघिल्लो वर्ष गरेको नाफाबाट सूर्य नेपालले सेयरधनीलाई १० अर्ब ४३ करोड ३० लाख रुपैयाँ लाभांश घोषणा गरेको थियो । यो वर्ष पनि सोही रकम बराबर लाभांश सेयरधनीलाई वितरण हुने देखिएको छ । उद्योगले यो वर्ष लाभांश घोषणा गरेको छैन् । यद्यपि, लगानीकर्तालाई लाभांश दिँदै आएको बताएको छ ।
अघिल्लो वर्ष २०२१ मा ९ अर्ब ४१ करोड रुपैयाँ लाभांश दिएको थियो । यस्तै २०२० मा उद्योगले ९ अर्ब ८५ करोड र २०१९ मा ९ अर्ब १३ करोड रुपैयाँ लाभांश दिएको थियो ।
सूर्य नेपालले ५ अर्ब ७५ करोड रुपैयाँ ऋणको रेटिङ गराएको छ । चुरोटको करमा वृद्धि भए पनि नयाँ ब्रान्ड ल्याएका कारण उद्योगको व्यापार बढेको हो । चुरोटका साथै सूर्य नेपालले सलाइ र अगरबत्ती पनि उत्पादन गर्दै आएको छ । कूल व्यापारमा सलाइ र अगरबत्तीको हिस्सा थोरै रहेको उद्योगले जनाएको छ ।
कम्पनीको व्यवसायलाई विविधीकरण गर्न व्यवस्थापनले होटल व्यवसायमा प्रवेश गर्ने योजना बनाएको छ । होटल व्यवसायमा प्रवेशको तयारी गर्ने भनेको लामो समय बितिसकेको छ । तर, सुरु भएको छैन । माउ कम्पनी भारतको आइटिसी लिमिटेडले नेपालमा होटल खोल्ने बताउँदै आएको छ । आइटिसीले १ अर्ब रुपैयाँ लगानीमा साँगामा फच्र्युन वेलनेस रिसोर्ट सञ्चालनमा आएको छ ।
पछिल्लो समय सरकारले अन्तःशुल्क र स्वास्थ्य जोखिम करका कारण चुरोट उद्योग झनै करको बोझमा परेको छ । यस्तै खैनी, गुटखालगायत अवैधरूपमा नेपाल भित्रिएका चुरोटले नेपाली उद्योगलाई समस्यामा पार्दै आएको उद्योगले जनाएको छ ।
सूर्य नेपालले सूर्य लिजेन्ड, सूर्य २४ क्यारेट, सूर्य लक्जरी किङ्स, शिखर फिल्टर किङ्स, शिखर आइस रस, नौलो, खुकरी फिल्टर, पाइलट फिल्टर, सूर्य फ्युजन, स्टिकर स्पाइस रस, बिजुली र चौतारी ब्रान्डका चुरोट उत्पादन गरिरहेको छ।
सूर्यको देशभरि १ सयभन्दा बढी थोक विक्रेता छन् । जनकपुर चुरोट कारखाना अवसानपछि चुरोट बजारमा सूर्य नेपालको एकछत्र राज छ । सूर्य नेपाल सबैभन्दा बढी कर तिर्ने उद्योगमा पर्दै आएको छ । सरकारले उद्योगलाई वर्षेनि सम्मान गर्दै आएको छ ।
सन् १९८६ मा स्थापना भएको सूर्य नेपालले चुरोट उत्पादन थालेको ३५ वर्ष भइसकेको छ । सूर्यमा आइटिसी इन्डिया लिमिटेडको ५९ प्रतिशत सेयर छ । ३९ प्रतिशत नेपाली व्यक्तिगत लगानीकर्ताको स्वामित्व छ । यस्तै २ प्रतिशत ब्रिटिस अमेरिका टोबाको लिमिटेडको स्वामित्व छ ।
आइटिसी सन् १९१० मा स्थापना भएको थियो । कम्पनी भारतमा चुरोट उत्पादनसाथै प्याकेजिङ फुड, स्टेसनरी, सलाइ, अगरबत्ती, होटल, एग्रो बिजनेसमा संलग्न छ । कम्पनीको अध्यक्षमा सञ्जीव पूरी छन् । उनी आइटिसी इन्डियाको अध्यक्ष तथा प्रबन्ध निर्देशक पनि हुन् ।
एक वर्षमा आइटिसीले ६ खर्ब ९४ अर्ब ४६ करोड रुपैयाँ व्यापार गरेको छ । आइटिसीको बजार पुँजीकरण बढेर ५३ खर्ब ४७ अर्ब ८३ करोड रुपैयाँ पुगेको सूर्य नेपालले जनाएको छ ।