४ आश्विन २०८१, शुक्रबार 1726826789
अर्थ

जलविद्युतको उत्पादनको क्षमता हेरेर प्रसारण लाईनको गुरुयोजना बनाउनुपर्छ : उर्जामन्त्री खड्का

काठमाडौँ, १९ भदौ । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले जलविद्युत उत्पादनको क्षमतालाई हेरेर प्रसारण लाईन विस्तारको गुरुयोजना निर्माण गर्नुपर्ने बताउनुभएको छ । राष्ट्रिय प्रसारण ग्रीड कम्पनी लिमिटेडले आज मन्त्रालयमा आयोजना गरेको ‘नेपालको प्रसारण गुरुयोजना’ सम्बन्धी छलफलमा उहाँले भविश्यमा हुने उत्पादन क्षमतालाई हेरेर प्रसारण गुरुयोजना निर्माण गर्नुपर्ने बताउनुभएको हो ।

“एउटै नदीबाट कति मेगावाट विद्युत उत्पादन गर्न सकिन्छ, त्यसको मूल्याङ्कन गरेर प्रसारण लाईनको गुरुयोजना निर्माण गर्नुपर्छ, उत्पादन भएपछि गुरुयोजना बनाउने होइन, उत्पादन हुनुपूर्व नै गुरुयोजना बन्नुपर्छ,”– उर्जामन्त्री खड्काले भन्नुभयो ।

उहाँले आगामी १० वर्षमा २८ हजार ५०० मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य सरकारले लिएकाले उक्त लक्ष्यलाई पुरा गर्नका लागि प्रसारण लाईनमा चाहिने आवश्यक पूर्वाधार निर्माणमा जोड दिनुपर्ने उल्लेख गर्नुभयो । मुलुकको आम्दानीको मुख्य क्षेत्र उर्जा भएकाले यसको विकासमा विशेष योजना बनाउनुपर्ने उहाँको भनाई थियो ।

उर्जामन्त्री खड्काले काम गर्ने शिलशिलामा अफ्ठयारो देखाएर अल्झने ठाउँ नभएकाले अफठ्यारा सबैलाई हटाएर अगाडि बढ्नुपर्ने बताउनुभयो । उहाँले प्रसारण लाइन विस्तारमा निजी क्षेत्रलाई समेत आवद्ध गराउन लागिएकाले काम गर्नका लागि लगानी जुटाउनसमेत आग्रह गर्नुभयो ।

उहाँले प्रसारण लाईन निर्माणका क्रममा देखिएका वन र जग्गाप्राप्तीका समस्यालाई समाधान गर्दै अगाडि बढ्नुपर्ने बताउनुभयो । जग्गा प्राप्तीका लागि तिर्ने शुल्क सरकारी र निजी क्षेत्रको एउटै मापदण्ड हुनुपर्ने उहाँको भनाई थियो । उहाँले उर्जा क्षेत्रको विकासका लागि अर्थ मन्त्रालयले पनि सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो । प्रसारण गुरुयोजना राम्रो बनेपनि कतिपय कुराहरु परिस्कृत गर्नुपर्ने उहाँको भनाई थियो ।

उर्जा मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले निजी क्षेत्रलाई प्रसारण लाइनमा फाईदा भएको कुरा बुझाएर लगानी गर्ने वातावरण निर्माणमा लाग्नुपर्ने बताउनुभयो । उहाँले उर्जा क्षेत्रको विकास सरकार एक्लैले गर्न नसक्ने भएकाले नीजि क्षेत्रको साथ र सहयोग आवश्यक रहेको बताउनुभयो ।

उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका उर्जा विज्ञ प्रवल अधिकारीले देशको आर्थिक रुपरेखा बदल्न उर्जा क्षेत्रको विकास आवश्यक रहेको बताउनुभयो । उहाँले भर्खरै निर्माण भएको प्रसारण गुरुयोजनालाई आवश्यकताअनुसार परिमार्जन गर्दै अगाडि बढ्न सकिने उल्लेख गर्नुभयो । उर्जा विज्ञ अधिकारीले प्रसारण लाइनको क्षेत्रमा ग्रीड कम्पनीसँगै नेपाल विद्युत प्राधिकरणले समेत काम गरेकाले एक अर्कामा सहकार्य गरेर अगाडि बढ्नुपर्ने धारणा राख्नुभयो ।