४ आश्विन २०८१, शुक्रबार 1726845165
Banner

लुम्बिनी प्रदेशसभाको बैठक भदौ २६ गते बस्ने

बुटवल । लुम्बिनी प्रदेशसभाको आगामी बैठक भदौ २६ गते बस्ने भएको छ । सो दिन लुम्बिनी प्रदेशसभा चौथो अधिवेशनको २९ औँ बैठक बस्ने तय भएको प्रदेशसभा सचिव दुर्लभकुमार पुनमगरले जानकारी दिए । सो बैठकमा प्रदेश विपद् व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई दफावार छलफलका लागि विषयगत समितिमा पठाउने, स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयकलाई निर्णययार्थ प्रस्तुत गर्न सक्ने सम्मका सम्भावित कार्यसूची तय भएको जनाइएको छ ।

यसअघिको बैठकमा स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको प्रतिवेदन सहितको विधेयक पेस भएको थियो । प्रतिवेदन सहितको विधेयक पास गर्ने तयारी गरिए पनि विधेयक पुनः प्रदेश मामिला तथा कानुन समितिमा पठाइएको थियो । प्रदेशसभाबाट पास हुनुपर्ने तर, अझैसम्म सदनले पास नगर्दा कर्मचारीको वृत्ति विकासमा असर परेको भन्दै दिनहुँ ज्ञापन पत्र बुझाउने, सरकारका प्रमुख तथा प्रदेशसभाका अधिकारीहरूलाई ध्यानाकर्षण गराउने काम चलिरहेको छ । प्रदेश सरकारले प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयकको संशोधन प्रस्ताव समेत सदनमा लैजाने तयारी गरेको छ ।