काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार गठनको प्रक्रिया नै असंवैधानिक र अलोकतान्त्रिक रहेको बताएका छन् ।
शनिबार एमालेको जनवर्गीय संगठन नेसनल भोलेन्टियर्स फोर्सको प्रथम स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले वर्तमान सरकारको गठन आंतक, आगजनी र तोडफोडबाट भएको बताएका हुन् ।
अध्यक्ष ओलीले अहिले देशमा संवैधानिक व्यवस्था र लोकतान्त्रिक विधि कमजोर पारिएको बताए । उनले राष्ट्रपति रामचन्द्र पौडेलले डराएर असंवैधानिक ढंगले प्रतिनिधि सभा विघठन गरेको समेत टिप्पणी गरे ।
‘डरपोक राष्ट्रपतिले, सम्माननीय हुनुहुन्छ, भन्न त भएन । सम्माननीय राष्ट्रपतिले डरपोक भएर प्रतिनिधि सभाको असंवैधानिक विघटन गर्नुभयो र बडो जुक्ति लगाएर लोकतन्त्र जोगाएँ भन्नुभयो,’ उनले भने, ‘अनि असंवैधानिक ढङ्गले संसद विघटन गरेर लोकतन्त्र जोगिन्छ ?’
प्रधानन्यायाधीश भइसकेको मान्छे संविधान मिचेर प्रधानमन्त्री भएको र एकल सिफारिसमा प्रतिनिधि सभा विघटन गरेको उनले बताए । प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा मुद्दा परे पनि अदालतले समयमै फैसला नगरेको उनको भनाइ छ ।
लोकतन्त्र र संविधानको संरक्षण गर्ने जिम्मेवारी राज्यका निकायले पूरा नरेको भन्दै अध्यक्ष ओलीले अहिले लोकतान्त्रिक संस्थाहरू आदेशका भरमा चल्न थालेको बताए । राज्यका निकायहरू आदेशको भरमा नभई कानुनअनुसार चल्नुपर्ने उनले बताए ।
देशलाई संवैधानिक र लोकतान्त्रिक विधिअनुसार सञ्चालन गर्नका लागि दबाब दिन युवाहरू संगठित हुनुपर्ने अध्यक्ष ओलीको भनाई थियो ।


