३ आश्विन २०८१, बिहिबार 1726783831
Banner

वृहत् वामपन्थी एकीकरण र कम्युनिस्ट पार्टीको पुनर्गठन आवश्यक : उपाध्यक्ष सापकोटा

काठमाडौँ । पूर्वसभामुख एवं नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष अग्निप्रसाद सापकोटाले वृहत् वामपन्थी एकीकरण र कम्युनिस्ट पार्टीको पुनर्गठन आवश्यक रहेको बताएका छन् । बिहीबार काठमाडौँमा नेपालमा समाजवाद: चुनौती र सम्भावना विषयक गोष्ठीमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उपाध्यक्ष सापकोटाले अहिलेको परिस्थितिमा पुनः एक पटक वृहत् वामपन्थी एकीकरण र कम्युनिस्ट पार्टीको पुनर्गठन जरुरी रहेको बताए । उनले विगतमा एकता गरेर पनि रक्षा गर्न नसकिएको भन्दै राष्ट्रियता, जनतन्त्र, जनजीविकाका सवाललाई अगाडि बढाउन आवश्यक रहेको बताए । उनले राष्ट्रियताको सवाल धेरै पेचिलो भएको भएको उल्लेख गर्दै सबै एकताबद्ध अघि बढ्न आवश्यक रहेको बताए । उनले नेपाल नेपालीहरूको भएकाले नेपालीहरूले नै चलाउनुपर्ने बताए ।

उनले भने, ‘ हामीले फेरि एक पटक वृहत् वामपन्थी एकीकरण र कम्युनिस्ट पार्टीको पुनर्गठन गर्नुपर्ने आवश्यक छ । हामीले हिजो एकता गरेर पनि रक्षा गर्न सकेनौँ । नेकपा (माओवादी केन्द्र) को उपाध्यक्षको हैसियतले जोडदार रूपमा के अपिल गर्दछु भने राष्ट्रियता, जनतन्त्र, जनजीविकाका सवाललाई अगाडि बढाउनका लागि कम्युनिस्ट पार्टीको पुनर्गठन आवश्यक छ ।’ उपाध्यक्ष सापकोटाले अहिले विश्वयुद्धको खतरा मडारिरहेको भन्दै त्यो आँधीबेहरीका लागि तयार हुनुपर्ने बताए ।