५ आश्विन २०८१, शनिबार 1726921015
अर्थ

सिटी स्क्वायर मलको काम अन्तिम चरणमा

काठमाडौं । निजी लगानीमा राजधानीको सामाखुशीमा डेढ अर्ब रुपैयाँ लगानीमा ‘सिटी स्क्वायर मल’ निर्माण भइरहेको छ । नर्थ सिटी मल्टिपर्पोज प्रालिले बनाइरहेको सिटी स्क्वायर मलको ८५ प्रतिशत वित्तीय प्रगति भएको छ ।

निर्माणाधीन मल १२ तलाको रहेको छ । मल आगामी मध्य अक्टुबरदेखि सञ्चालनमा ल्याउने तयारी भएको निर्माण कम्पनीले जनाएको छ । यद्यपि सिटी स्क्वायर मल आंशिक सञ्चालनमा आइसकेको छ ।

नर्थ सिटीले मल बनाउन १ अर्ब ४७ करोड ९० लाख रुपैयाँ लागत अनुमान गरेको थियो । पछि लागत १३ देखि १५ प्रतिशत बढेको कम्पनीले जनाएको छ । नर्थ सिटीले ७६ करोड ७७ लाख रुपैयाँ ऋणको रेटिङ गराएको छ ।

लागत बढेपछि अहिले फन्डिङ ग्याप भएको छ । लागत बढेपछि कम्पनीको वित्तीय प्रोफाइलमा असर परेको छ । यद्यपि मलले बैंकको ऋण तिर्न गत जनवरीदेखि थालेको छ ।

मलको बुकिङ ९८ प्रतिशत भएको छ । मलमा ६० भन्दा बढी कम्पनी आउने भएका छन् । गोंगबु नजिक सामाखुसीको व्यस्त जक्सनमा निर्माणाधीन मलमा बैंकका साथै रेष्टुरेन्ट, जिम हल र सिनेमा हल हुने भएको छ । सामाखुसी र गोंगवु क्षेत्र राजधानीको सबैभन्दा व्यस्त मध्येको एक हो ।

मलमा केएफसी, क्युएफएक्सका साथै प्रतिष्ठित ब्रान्डहरु बास्किन्स र रोबिन्स, प्लेटिनम जिम हुने भएको छ । जुन मलका लागि सकारात्मक रहनेछ । यसबाहेक, कम्पनीको कम्प्लेक्समा स्वामित्व भएको मार्ट र रेस्टुरेन्टहरूले भाडा आम्दानीको अतिरिक्त राजस्व विविधीकरण प्रदान गर्ने अपेक्षा गरिएको छ । मल १ लाख ८० हजार वर्गफिटमा फैलिएको छ ।