५ आश्विन २०८१, शनिबार 1726913417
अर्थ

भाटभटेनी सुपर स्टोर, चितवनको टाँडीमा २९ औं शाखा शिलान्यास

काठमाडौं । नेपालको सबैभन्दा ठूलो भाटभटनी सुपर मार्केटले आक्रमक रुपमा बजार विस्तार गरिरहेको छ । पोखराको तालचोकमा २८ ‌औं शाखा शिलान्यास गरेको तेस्रो दिन भाटभटेनीले चितवनको रत्ननगरमा २९ औं शाखा खोल्न लागेको छ । भाटभटेनीले रत्ननगरमा डेढ अर्ब रुपैयाँ लगानीमा शाखा खोल्न लागेको हो । भाटभटेनीका अध्यक्ष मीनबहादुर गुरूङ तथा उनकी पत्नी सावित्री गुरूङले बुधबार बिहान रत्ननगर३ स्थित भाटभटेनीको शिलान्यास गरेका छन् । गुरुङ दम्पतिले शाखा भवन निर्माणको भूमि पूजा गरेका छन् ।

चितवनमा मात्रै भाटभटेनीको दुई शाखा हुने भएको छ । यसअघि भरतपुरमा पनि भाटभटेनीको स्टोर सञ्चालनमा छ । पर्यटकलाई समेत लक्षित गर्दै चितवनको टाँडीमा अहिलेसम्मकै सबैभन्दा ठूलो सुपरस्टोर निर्माण गर्ने भएको छ। दिनभर घुमेर थाकेका पर्यटकलाई रिफ्रेसमेन्ट चाहिएको हुन्छ। पर्यटकलाई रिफ्रेसमेन्ट गराउने उदेश्यले टाँडीको सुपरस्टोर अत्याधुनिक रेस्टुरेन्ट सञ्चालनमा ल्याइने गुरुङले बताएका छन् । रेस्टुरेन्टमा रैथाने नेपाली खानादेखि इन्डियन, चाइनिज, इटालियन लगायत विभिन्न स्थान र मुलुकका परिकार उपलब्ध गराइनेछ।

१ वर्षभित्र स्टोर सञ्चालन गर्ने अध्यक्ष गुरूङले जानकारी दिए । गुरुङले २४ गते पोखराको तालचोकमा २८ औं शाखाको जगपुजा गरेका थिए ।

७ तले रत्ननगर स्टोरको हरेक तलाको क्षेत्रफल ४६ हजार वर्गफिटको हुनेछ । टाँडीका जनतालाई सहजता प्रदान गर्न खुल्न लागेको यो स्टोरमा करिब ५ सय जनालाई रोजगारी दिने योजना रहेको उनले जानकारी दिए। टाँडी शाखामा फिल्म हल, फुड कोर्ड र बालबालिका लागि खेल क्षेत्रसमेत तयार हुनेछ ।

२ अर्ब लगानीमा पोखरामा दोस्रो भाटभटेनी सुपरमार्केट निर्माण सुरु भएको छ। साढे १२ रोपनी क्षेत्रफलमा पोखरा महानगरपालिका–२९ स्थित तालचोकमा ६ तले भाटभटेनी सुपरपार्केटको भूमिपूजा गरिएको हो।

२ वटा फिल्म हलसहित सञ्चालन हुने सुपरमार्केट २ लाख २५ हजार स्क्वायर फिटको हुनेछ। २ तले बेसमेन्ट पार्किङ हुने सो सुपरमार्केटमा फुटकोट, बच्चाका लागि प्ले एरियासमेत हुनेछ। सुपरमार्केटमा प्रत्यक्ष रुपमा ४ सय बढीले रोजगारी पाउने जनाइएको छ।

भाटभटेनी काठमाडौं, ललितपुर, भक्तपुर, भरतपुर, बुटवल, नेपालगञ्ज, विराटनगर, जनकपुर, वीरगञ्जमा सञ्चालन भइरहेको छ । भाटभटेनी सुपर स्टोर्सले थप दुई हजार युवाका लागि रोजगारी दिने घोषणा गरी कार्यान्वयनमा ल्याइसकेको छ ।

गुरुङले यसअघि काठमाडौंमा बन्न लागेको बाल अस्पतालका लागि ४१ करोड सहयोगको घोषणा गर्दै काम अघि बढाइसकेका छन् । त्यसबाहेक २०६८ सालमा ११ करोड खर्च गरेर काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालको इमर्जेन्सी भवन निर्माण गरिदिएका थिए ।

भूकम्पलगत्तै सोही अस्पतालमा गुरुङले १५ करोड लागतमा ईएचएस भवन निर्माण गरिदिएका छन् । उनैले अहिलेसम्म १४ जनालाई एमबीबीएस अध्ययन गराएका छन् । गुरुङले व्यवसायी उमेश श्रेष्ठसँगको साझेदारीमा टाँडीमा अत्याधुनिक कोल्ड स्टोर पनि निर्माण गरिरहेका छन्।

भाटभटेनीको व्यापार वार्षिक ३० अर्ब रुपैयाँ बढी हुने गरेको छ ।