६ आश्विन २०८१, आइतबार 1727031464
Banner

सामाजिक सङ्घसंस्थाका कामकारबाही पारदर्शी बनाउनुपर्छ : मन्त्री सुडी

पाटन (ललितपुर) : महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले सामाजिक सङ्घसंस्थाका कामकारबाही प्रष्ट र पारदर्शी बनाउनुपर्छ भन्नेमा जोड दिनुभएको छ । ‘सुशासन र समृद्ध नेपाल, राष्ट्रिय सोचाइ, दिगो सामाजिक विकास, सङ्घसंस्थाको रोजाइ’ भन्ने नाराका साथ समाज कल्याण परिषद्द्वारा आज यहाँ आयोजित ४५औँ सामाजिक सेवा दिवस समारोहमा उहाँले सामाजिक सङ्घसंस्था समाजप्रति उत्तरदायी हुनेहुँदा प्रभावकारी र पारदर्शी हुनुपर्ने बताउनुभयो । “समाजसेवीप्रति समाजको मर्यादा र प्रतिष्ठा विकसित हुन सकोस्, पछि परेका वर्गको हित, पछि परेको समुदायको कल्याणमा समाजसेवीको ध्यान जान सकोस्, तनमन लगाएर समाजमा पछाडि परेकाहरुको उत्थानमा सबै दत्तचित्त भएर सेवा गर्न सकौँ”, उहाँले भन्नुभयो ।

उहाँले समाजकल्याण परिषद्बाट हुने अनुगमन र मूल्याङ्कनलाई अझ वैज्ञानिक र प्रभावकारी बनाइनुपर्नेमा जोड दिनुभयो । “समाजकल्याण ऐनलाई समयसापेक्ष परिमार्जन र संशोधन गर्दै एकद्वार नीतिअनुसार अगाडि बढाउन सरकार लाग्नेछ”, उहाँले भन्नुभयो । परिषद् उपाध्यक्ष नन्दलाल माझीले गैरसरकारी संस्था, अन्तर्राष्ट्रिय गैरसरकारी संस्था र सरकार मिलेर काम गर्नुपर्ने बताउनुभयो । परिषद्का सदस्य सचिव मनोज भट्टले आर्थिक वर्ष २०८०÷८१ मा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थासँग ४४ वटा परियोजनासँग सम्झौता भई रु २१ अर्ब ५८ करोड १८ लाख ५३ हजार छ सय ६३ को प्रगति हासिल भएको जानकारी गराउनुभयो । उक्त आवमा रु १२ करोड ७१ लाख आम्दानी अपेक्षा गरिएकामा रु १७ करोड चार लाख आम्दानी भएको उहाँले जानकारी गराउनुभयो । लोकतान्त्रिक गैरसरकारी संस्था महासङ्घमा अध्यक्ष रमेश धमलाले समाजकल्याण परिषद् एउटा सानो कोठाभित्र मात्रै सीमित हुन नहुने बताउनुभयो ।