२३ कार्तिक २०८३, सोमबार Monday, 9 November 2026
हामीलाई पछ्याउनुहोस्
२३ कार्तिक २०८३, सोमबार 5:01 pm
Banner

रैथाने उत्पादनको बजार विस्तार तथा प्रवर्द्धन गर्न आवश्यक : सभामुख अर्याल

सूचना प्रेस २०८३ कार्तिक २३ सोमबार ००:००, १५:५१ बजे २ मिनेट पढाइ

काठमाडौँ : सभामुख डोलप्रसाद (डिपी) अर्यालले रैथाने उत्पादनको प्रवर्द्धन र बजारीकरणका लागि सरकारले नियमित रूपमा पहल गर्नुपर्ने बताएका छन्।

काठमाडौँको थापाथलीस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको बागमती प्रादेशिक कार्यालय परिसरमा आज रैथाने मेलाको अवलोकनका क्रममा सभामुख अर्यालले रैथाने बालीको प्रवर्द्धनमा सरकारले अझ ध्यान दिनुपर्ने बताएका हुन्।

अवलोकनपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले किसानलाई उत्पादनसँगै त्यसको प्रचारप्रसार र बजारीकरणमा समय दिन कठिन हुने भएकाले सरकारले सहजीकरण गर्नुपर्ने खाँचो औँल्याए।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट ट्रेडिङलगायत सरकारी संस्थान र सञ्चारमाध्यमले किसानका उत्पादनलाई प्राथमिकताका साथ प्रवर्द्धन गर्नुपर्ने उनको भनाइ थियो।

सभामुख अर्यालले यस्ता मेला काठमाडौँमा मात्र सीमित नगरी देशका ठुला सहर तथा बजारहरूमा विस्तार गर्नुपर्ने धारणासमेत व्यक्त गरे।

नियमित रुपमा मेला आयोजना गर्दा किसानले आफ्ना उत्पादन उपभोक्तासमक्ष पुर्याउने अवसर पाउनुका साथै नागरिकले देशका विभिन्न क्षेत्रका रैथाने उत्पादनबारे जानकारी पाउने उनको भनाइ थियो।

सभामुख अर्यालले काठमाडौँ उपत्यकाका उपभोक्ताका लागि स्थानीय उत्पादन परिचित भए पनि दुर्गम तथा बाहिरी जिल्लाका उत्पादनको प्रदर्शनीले नयाँ बजार र उपभोक्तासँग जोड्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

उनले मेला अवलोकनका क्रममा सरकारी स्टलहरूमा समेत प्लास्टिकका झोला प्रयोगमा ल्याइएकाले अबदेखि त्यसो नगर्न र सरकारी उत्पादनमा अधिकतम खुद्रा मूल्य (एमआरपी) स्पष्ट उल्लेख गर्न सुझाव दिए।

नेपाली मौलिक संस्कृति, रैथाने उत्पादन तथा स्थानीय उद्यमशीलताको प्रवर्द्धन गर्दै स्वदेशी उत्पादनलाई बजारसँग जोड्ने उद्देश्यसहित शनिबारदेखि यहाँ सुरु भएको तीनदिने मेला आज समापन भएको छ।