३० आश्विन २०८१, बुधबार 1729098659
शिक्षा /स्वास्थ्य

गरिब र द्वन्द्वपीडितलाई निःशुल्क पठनपाठन

तुलसीपुर (दाङ) : तुलसीपुर उपमहानगरपालिका–१२ स्थित पशुपति माध्यमिक विद्यालय हरीपौरीले गरिब तथा द्वन्द्वपीडित विद्यार्थीलाई निःशुल्क पठनपाठन गराउँदै आएको छ । गरिब, जेहेन्दार, द्वन्द्वपीडित, पिछडिएको वर्ग तथा वडा कार्यालयको सिफारिसमार्फत आउने अन्य विद्यार्थीलाई निःशुल्क पठनपाठन गराउँदै आइएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खगेन्द्र अधिकारीले बताउनुभयो । उहाँका अनुसार विद्यालय व्यवस्थापन समितिले गरिब, द्वन्द्वपीडितलगायत आर्थिक अवस्था कमजोर भएकालाई निःशुल्क पठनपाठन गराउने निर्णय गरेको हो । सोही विद्यालयबाट एसइई उत्तीर्ण गरी कक्षा ११ मा भर्ना हुने तथा वडा कार्यालयले सिफारिस गरेका विद्यार्थीलाई प्रमाणपत्र निकाल्न पनि कुनै शुल्क नलाग्ने निर्णय गरिएको अध्यक्ष अधिकारीले जानकारी दिनुभयो ।

लक्षित विद्यार्थीको आर्थिक अवस्था कमजोर हुने भएकाले यो निर्णय गरी कार्यान्वयनमा ल्याइएको उहाँको भनाइ छ । उक्त विद्यालयमा कक्षा १२ सम्म व्यवस्थापन सङ्कायमा कक्षा सञ्चालन भइरहेका छन् । कक्षा ११ र १२ सञ्चालन भएको चार वर्ष भएको बताउँदै अध्यक्ष अधिकारीले एक जना राहात र एकजना स्थायी शिक्षक मात्रै रहेका जानकारी दिनुभयो । “व्यवस्थापन सङ्काय सञ्चालन भएको चार वर्ष भयो, अहिलेसम्म शिक्षक अभाव छ”, उहाँले भन्नुभयो, “निजी स्रोतबाट शिक्षक ल्याएर पढाउनुपर्ने अवस्था छ ।”

निजी स्रोतका शिक्षकलाई वार्षिक रु ११ लाख तलब दिनुपर्ने अवस्था रहेको उहाँको भनाइ छ । कक्षा ११ र १२ का विद्यार्थीबाट केही शुल्क लिने गरिएकाले निजी शिक्षकलाई तलब खुवाउन सकिएको अध्यक्ष आधिकारीले बताउनुभयो । निजी शिक्षकलाई तलब खुवाउँदा वार्षिक रु पाँच लाख घाटा हुने बताउँदै उहाँले अभिभावकको सहयोग र विद्यालयको जग्गा भाडाबाट सङ्कलन भएको रकमबाट घाटा पूर्ति गर्ने गरिएको जानकारी दिनुभयो । यस विषयमा पटकपटक सम्बन्धित निकायमा ध्यानाकर्षण गराइएको भन्दै अध्यक्ष अधिकारीले हालसम्म कुनै सुनुवाइ नभएको उल्लेख गर्नुभयो ।