पाँचतारे होटल डेल अन्नपूर्ण भत्काएर नयाँ लक्जरी पाँचतारे होटल निर्माण हुने भएको छ । अन्नपूर्णमा रहेको पुराना भवन भत्काएर नयाँ २५ तल्ला अग्लो पाँचतारे होटल बन्न लागेको हो । बन्न लागेको अन्नपूर्ण मुलुकको संभवत सबै भन्दा ठूलो पाँचतारे होटल हुने भएको छ । होटलको व्यवस्थापन भारतीय प्रिमियम ब्राण्ड आइटिसीले हेर्ने भएको छ । नेपालमा आइटिसीको यो दोस्रो व्यवस्थापन हो । यसअघि भक्तपुरमा रहेको फर्चुन रिसोर्ट एन्ड वेलनेस स्पाको व्यवस्थापन पनि आइटिसीले लिएको छ ।
भाटभटेनी समूह र लिटिल एन्जल्स समूह मिलेर नयाँ होटल निर्माण सुरु गरेका हुन् । यि दुई व्यवसायिक समूहले पाँच महिनाअघि होटल डेल अन्नपूर्ण खरिद गरेका हुन् । अन्नपूर्णको अहिलेको पुराना भवन भत्काएर नयाँ संरचना बनाइने भएको छ । नयाँ होटलमा ८ अर्ब रुपैयाँ लगानी हुने भएको छ ।
नयाँ बन्ने होटलको प्रवद्र्धक अन्नपूर्ण स्क्वायर र आइटिसीबीच होटल सञ्चालनसम्बन्धी बिहीबार सम्झौता भएको छ । अन्नपूर्ण स्क्वायरले होटल आफै निर्माण, सञ्चालन र हस्तान्तर (बूट) मोडलमा हुने भएको छ ।
उक्त अवसरमा अन्नपूर्ण स्क्वायरका अध्यक्ष मीनबहादुर गुरुङले आगामी २०८५ वैशाख १ गतेबाट होटल सञ्चालनमा ल्याउने जानकारी दिए । उनले अन्तर्राष्ट्रिय बजारमा होटलको प्रवर्धन गर्न आइटिसीसँग व्यवस्थापन सम्झौता गरेको बताए । अब होटल अन्नपूर्णको नयाँ अध्याय सुरु भएको र लक्जरी आतिथ्यतामा नयाँ मानक कायम गर्ने उनले बताए ।
गुरुङले होटलले स्तरीय सेवा दिएर पर्यटक आकर्षित गर्नेमा आफू विश्वस्त रहेको बताए । उनले त्यसका लागि इमान्दार भएर काम गर्न आवश्यक रहेको भन्दै आफैंले सुरु गरेको भाटभटेनी सुपरस्टोरको उदाहरण सुनाए ।
अन्नपूर्ण स्क्वायरका नाममा सञ्चालनमा आउने होटलको निर्माण ६ महिनापछि सुरु गरिने भएको छ । पुरानो संरचना भत्काएर निर्माण गरिने भएकाले डिजाइनको काम भारतकै आर्किटेक्चर कम्पनीले गरिरहेको छ ।
होटलमा ३ सय ३० कोठा हुनेछन् । ४० कोठा अपार्टमेन्ट हुनेछ । होटल परिसरमा ४०० स्क्वायर फिट क्षेत्रफलमा बिजनेस कम्प्लेक्स बन्नेछ । जसमा भाटभटेनीदेखि विभिन्न ब्राण्डेड सपिङ मल र फुडकोर्ट रहने भएको छ ।
अफिस कम्प्लेक्सका लागि ४०० स्क्वायर फिट क्षेत्रफल छुट्टाएर होटलमा १ हजार, २ हजार र ३ हजार मानिस अटाउने क्षमताका तीनवटा बैक्वेट हल निर्माण गरिनेछ । २५ तल्लाको संरचनासहितको होटलको अन्तिम डिजाइन केही समयमा तयार हुने सो अवसरमा जानकारी दिइएको छ । होटल कुल ९ लाख स्क्वायर फिट क्षेत्रफलमा तयार हुनेछ । होटलमा क्यासिनो पनि सञ्चालन हुने भएको छ ।
आइटिसी होटल्स भारतको लक्जरी होटलको प्रिमियम ब्राण्ड हो । आइटीसी अन्तर्गत भारत र भारत बाहिरका विभिन्न ९० मुलुकमा १ सय ४० वटा होटल सञ्चालनमा छन् । ति होटलमा १३ हजार कोठा रहेको आइटिसीले जनाएको छ । नेपालको चुरोट बजारमा एकछत्र राज गरेको सूर्य नेपालमा आइटिसीको ५९ प्रतिशत स्वामित्व रहेको छ । गुरुङले ग्राहक खोज्न धेरै टाढा जान नपर्ने र स्तरीय सेवा दिन सके ग्राहकको कमी नहुने बताए । मैले भाटभटेनी स्टोर सञ्चालनबाट जानेको सत्य यही हो’ गुरुङले भने, ‘मैले ४० वर्षको खुद्रा व्यापारबाट केही सिकेको छु । १२० स्क्वायर फुटको सानो स्टोर सञ्चालन गर्दा नजिकै केही पसल पनि थिए । कतिपय पसल बन्द भए । इमान्दार भएर ग्राहकलाई दिएको सेवाले भाटभटेनी देशव्यापीरुपमा फैलियो । हामी खुद्रा व्यापारबाट होटल व्यवसायमा आएका छौं ।’
सो अवसरमा आइटिसी होटलका प्रमुख कार्यकारी अनिल चड्डाले सम्झौता नेपालको होटल उद्योगमै ऐतिहासिक भएको बताए । ‘इतिहास बोकेको होटल डेल अन्नपूर्णलाई आइकोनिक होटल बनाउने लक्ष्य लिएका छौं । सञ्चालनमा आएपछि होटलले नेपालको पर्यटन क्षेत्रमा नयाँ कोशेढुङ्गा कायम गर्नेछ’ उनले भने ।