काठमाडौँ । प्रतिनिधि सभा उम्मेदवारहरूले धमाधम निर्वाचन आयोगलाई आफ्नो चुनावी खर्च विवरण बुझाउन थालेका छन्। पारदर्शिताका लागि भन्दै चुनावी खर्च विवरण बुझाउन आयोगले उम्मेदवारका लागि आचारसंहिता बनाएको छ। निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनमा सहभागी राजनीतिक दल र उम्मेदवारलाई निर्वाचन प्रचारप्रसारमा भएको आम्दानी तथा खर्चको विवरण ३५ दिनभित्र सार्वजनिक गर्न निर्देशन दिइसकेको छ।
प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७२ को उपदफा (४) बमोजिम पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फका उम्मेदवारले सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा र समानुपातिकतर्फका राजनीतिक दलले आयोगले तोकेको ढाँचामा खर्च विवरण पेस गर्नुपर्ने कानुनी व्यवस्था छ। यस्तै निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३ को दफा ३१ को उपदफा (२) बमोजिम खर्चको विवरण सर्वसाधारणको जानकारीका लागि सार्वजनिक गर्नुपर्छ।
राजनीतिक दल र उम्मेदवारले निम्नमध्ये कुनै एक माध्यमबाट खर्च विवरण सार्वजनिक गरी सोको फोटो वा स्क्रिनसटसहितको प्रमाण आयोग वा सम्बन्धित निर्वाचन कार्यालयमा बुझाउनुपर्छ। तोकिएको समयभित्र खर्चको विवरण नबुझाउने, सार्वजनिक नगर्ने वा सार्वजनिक गरेको प्रमाणसहित जानकारी नदिने राजनीतिक दल तथा उम्मेदवारलाई निर्वाचन (कसूर तथा सजाय) ऐन बमोजिम कारबाही हुने भएकाले उनीहरूले त्यस्तो विवरण धमाधम बुझाइरहेका छन् भने आफ्नो सामाजिक सञ्जालमार्फत सार्वजनिक पनि गरेका छन्।
हालसम्म खर्च विवरण बुझाउनेमा रास्वपाका वरिष्ठ नेता एवं प्रधानमन्त्रीका उम्मेदवार बालेन्द्र साह देखि प्युठानबाट चुनाव उठेका एमाले नेता सूर्य थापासम्म छन्। झापा–५ का उम्मेदवार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता साह (बालेन) ले निर्वाचन कार्यालयमा बुझाएको चुनावी खर्च विवरणअनुसार १४ लाख १७ हजार रुपैयाँ खर्च भएको छ। उनले १५ दिनमा दुई वटा सवारी साधन भाडामा २ लाख ९३ हजार ८ सय रुपैयाँ खर्च भएको उल्लेख गरेका छन्। यो खर्च इन्धनसहितको रहेको विवरणमा उल्लेख छ। पाँच पटकको हवाई भाडामा ३५ हजार र मतदाता प्रशिक्षण कार्यक्रमको खाजा खर्चमा २८ हजार ९७० रुपैयाँ खर्च भएको विवरणमा उल्लेख छ।
यसैगरी वडास्तरीय प्रचार कार्यक्रममा ५ लाख ८० हजार, नमूना मतपत्र छपाइमा ४९ हजार ८५० रुपैयाँ, निर्वाचन कार्यालयमा दुई महिनाको पानी खर्च १ लाख २० हजार र स्टेशनरीमा २२ हजार ८२० रुपैयाँ खर्च भएको विवरण छ। यसैगरी झण्डा र ब्याचसहितको प्रचार प्रसार सामग्री छपाइमा १ लाख ५७ हजार ४१ रुपैयाँ, ब्यानर तथा स्टिकरमा १ लाख १९ हजार ८०८ रुपैयाँ र मनोनयन दर्तामा १० हजार रुपैयाँ खर्च भएको विवरण छ। बालेनको निर्वाचन प्रतिनिधि नवीन भण्डारीको हस्ताक्षरमा बुझाइएको विवरणमा समग्रमा १४ लाख १७ हजार २८९ रुपैयाँ खर्च भएको उल्लेख छ।
यता प्रतिनिधि सभा सदस्यमा तनहुँ जिल्ला क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद स्वर्णिम वाग्ले ले पनि आफ्नो चुनाव खर्च विवरण बुझाएका छन्। निर्वाचन आयोगमा बुझाएको विवरणअनुसार उनले चुनावका लागि २६ लाख ९० हजार ७५४ रुपैयाँ खर्च गरेका छन्। उनको प्रचारप्रसार सामग्री खरिद तथा प्रिन्टका लागि सबैभन्दा बढी ६ लाख ५० हजार २९८ रुपैयाँ खर्च भएको देखिएको छ। त्यसैगरी विद्युतीय प्रचारप्रसारमा ३ लाख ४८ हजार ४६४ रुपैयाँ र खाना–खाजा तथा अस्थायी बसोवासमा ३ लाख ४८ हजार ९०० रुपैयाँ खर्च भएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने ले चुनावी खर्च ९ लाख ८९ हजार रुपैयाँ मात्रै भएको विवरण निर्वाचन आयोगलाई बुझाएका छन्। प्रतिनिधि सभा सदस्य निर्वाचनमा चितवन–२ बाट उम्मेदवार बनेका उनले निर्वाचन खर्च विवरण पेस गरेका हुन्। पेस गरिएको विवरणमा कुल ९ लाख ८९ हजार ९८७ रुपैयाँ खर्च भएको उल्लेख गरिएको छ। मनोनयन दर्ता खर्चका लागि १० हजार रुपैयाँ, नमुना मतपत्र सामग्री छपाइका लागि ६८ हजार १६१ रुपैयाँ तथा प्रचार–प्रसारका क्रममा यातायात तथा इन्धनका लागि २ लाख ९५ हजार रुपैयाँ खर्च भएको उल्लेख छ।
त्यसैगरी मतदाता प्रशिक्षण कार्यक्रमका क्रममा खाजामा १४ हजार २०० रुपैयाँ, प्रचार सामग्री (झण्डा, ब्याच, स्टिकर) खरिदमा १ लाख १२ हजार रुपैयाँ तथा ब्यानर निर्माणमा ५५ हजार रुपैयाँ खर्च भएको विवरणमा उल्लेख छ। खाद्यान्न तथा रासन खरिदमा १ लाख ९६ हजार रुपैयाँ र हवाई यात्रामा १३ हजार ६२६ रुपैयाँ खर्च गरिएको छ। निर्वाचन आयोगले उम्मेदवारहरूले गरेको निर्वाचन खर्च पारदर्शी बनाउन विवरण अनिवार्य रूपमा बुझाउनुपर्ने व्यवस्था गरेको छ।
त्यस्तै, प्रतिनिधिसभा सदस्य निर्वाचनमा चितवन क्षेत्र नम्बर ३ की रास्वपा उम्मेदवार सोविता गौतम ले आफ्नो चुनावी खर्च विवरण पेस गरिन्। सार्वजनिक विवरणअनुसार गौतमले ९ लाख ९३ हजार ४५ रुपैयाँ खर्च गरेकी छन्। जस अन्तर्गत मनोनयन दर्ताका लागि ५ हजार, प्रचार प्रसार सामग्रीका लागि ३ लाख १७ हजार ४ सय, मतदाता प्रशिक्षणका लागि ३० हजार, नमूना मतपत्र/घोषणापत्र छपाइका लागि ७४ हजार २ सय, वडास्तरीय प्रचार प्रसार (१५ दिन) १ लाख खर्च भएको छ। सवारी साधन दुई वटा (चालक र इन्धन सहित) ३ लाख २५ हजार, स्टेशनरी २३ हजार ४४५ र खाद्यान्न, रासन तथा पानीमा १ लाख १८ हजार खर्च भएको उल्लेख छ।
त्यस्तै स्वतन्त्र सांसदमा विजयी महावीर पुनले निर्वाचन आयोगमा आफ्नो निर्वाचन खर्चको विवरण पेस गरेका छन्। प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत म्याग्दी क्षेत्र नम्बर १ मा निर्वाचित पुनले निर्वाचन अवधिमा कुल २८ लाख ६८ हजार ८६८ रुपैयाँ खर्च भएको जनाएका छन्। पेस गरिएको विवरणअनुसार होटलमा खाना र बसोबासका लागि सबैभन्दा धेरै १३ लाख ७ हजार ६१९ रुपैयाँ खर्च भएको देखिएको छ। यस्तै चालक ज्यालामा करिब १ लाख ४० हजार रुपैयाँ, यातायातमा ६ लाख ६० हजार ९९८ रुपैयाँ र डिजेलमा ३ लाख ६० हजार ४९९ रुपैयाँ खर्च भएको छ।
नेकपा (एमाले)का नेता सूर्य थापाले चुनावका लागि २४ लाख १० हजार ३८९ रुपैयाँ खर्च गरेको विवरण बुझाएका छन्। प्युठान जिल्ला प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवार बनेका थापाले सबैभन्दा धेरै ६४ वडामा वडा तथा पालिका स्तरीय कार्यक्रमका लागि ६ लाख ४० हजार रुपैयाँ खर्च गरेका छन्। एमाले महासचिव एवं दाङ क्षेत्र नम्बर २ का उम्मेदवार शंकर पोखरेलले आफ्नो चुनावी खर्च निर्वाचन कार्यालयमा बुझाएका छन्। उनले पेस गरेको खर्च विवरणअनुसार मतदाता नामावली खरिद बापत ५० हजार खर्च भएको उल्लेख छ।
सवारी साधनमा ३ लाख ५० हजार, सवारी इन्धन (घोडा प्रयोग गरिएकोमा दाना समेत) ३ लाख, प्रचारप्रसार सामग्री १ लाख ५० हजार, ढुवानीतर्फ १ लाख ५० हजार, गोष्ठी/अन्तरक्रिया १ लाख ५० हजार, अन्य प्रचार प्रसार, छापा एवं विद्युतीय माध्यम २ लाख, कार्यालय सञ्चालन १ लाख ५० हजार, प्रतिनिधि परिचालन १ लाख र विविध खर्च गरेर १ लाख ५० हजार उल्लेख गरिएको छ। यस्तै, राप्रपा नेता कमल थापा ले निर्वाचन कार्यालयमा खर्च विवरण बुझाएका छन्। उनले २३ लाख १० हजार रुपैयाँ खर्च गरेको विवरण छ।
उनले बुझाएको विवरणअनुसार निर्वाचन कार्यालय व्यवस्थापनका लागि ४ लाख ७५ हजार, डिजिटल सामग्री उत्पादन तथा विज्ञापनका लागि ४ लाख ५० हजार, घरदैलो कार्यक्रममा भोजन व्यवस्थापनका लागि ३ लाख ५० हजार र प्रचार प्रसार सामग्री छपाइ तथा वितरणका लागि ३ लाख १५ हजार रुपैयाँ खर्च गरेका छन्। यस्तै बुथमा ३ लाख १० हजार, प्रचार प्रसारका लागि गाडी भाडा र इन्धनबापत २ लाख ३५ हजार र कार्यकर्ता परिचालनमा १ लाख ५० हजार रुपैयाँ खर्च भएको विवरणमा उल्लेख छ।
थापाले यसपटक निर्वाचनमा जमानत जोगाउन सकेनन्। गृह जिल्ला मकवानपुर छोडेर काठमाडौं–५ बाट चुनावी मैदानमा उत्रिएका थापाले जम्मा १ हजार ९२२ मत पाए। एक मतका लागि थापाले एक हजारभन्दा बढी खर्च गरेको देखिन्छ। त्यस्तै अन्य उम्मेदवारले पनि निर्वाचन कार्यालयमा खर्च विवरण बुझाउने क्रम जारी छ। काठमाडौं–५ मा रास्वपाका सस्मित पोखरेल ३० हजार ७३७ मतसहित निर्वाचित हुँदा थापा चौथो भएका थिए।


