३० आश्विन २०८१, बुधबार 1729109080
Banner

सहकारी ठगी प्रकरणमा रवि लामिछाने निर्दोष : प्रचण्ड

काठमाडौं ।नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने निर्दोष रहेको बताएका छन् ।

आइतबार चितवनको भरतपुर विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उनले सहकारी छानबिन प्रतिवेदनले नै लामिछानेलाई दोषी नदेखाएको जिकिर गरे । लामिछाने जोडिएको गोरखा मिडिया नेटवर्कसम्बन्धी केही विषयमा भने सरकारले अनुसन्धान गर्न सक्ने उनले उल्लेख गरे । आफूले भनेर लामिछानेलाई पक्राउ गर्ने वा नगर्ने भन्ने नहुने उनको भनाइ थियो ।

लामिछानेलाई ‘क्लिन चिट’ दिन अदालत नै तयार नभएको आफूले सुनेको उनले बताए । सहकारी छानबिन समिति गठनको विपक्षमा रहेका नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली नै हाल प्रधानमन्त्री भएकाले उक्त प्रकरणका दोषीलाई कारबाही गर्न कसैले नरोकेको पनि प्रचण्डले बताए ।

आफू प्रधानमन्त्री हुँदा लामिछानेलाई गलत ढंगले क्लिन चिट दिने काम नगरेको र प्रहरीबाट पाएको आधिकारिक जानकारीपछि सदनबाट उनी निर्दोष रहेको धारणा राखेको प्रचण्डले सुनाए । उनले जनताका बीचमा जाने राम्रो आधार बनेकाले अब एक्लै निर्वाचन लडेर जित्ने जिकिर पनि गरे ।

सरकारको तयारी राम्रो नभएकाले प्राकृतिक प्रकोपबाट धेरै जनधनको क्षति भएको उनले आरोप लगाए । आफूहरू बाढीपहिरोपीडितको समस्या बुझ्न जाँदा सरकार नै नभएको अनुभूति जनताले गरेको उनको भनाइ थियो ।