३० आश्विन २०८१, बुधबार 1729109157
Banner

दशैं मनाउन ३ लाखले छोडे उपत्यका

काठमाडौं : दशैंका लागि उपत्यका छोड्नेको संख्या लगभग ३ लाख पुगेको पाइएको छ। असोज १४ गतेदेखि हिजो २० गते बेलुकासम्म उपत्यका विभिन्न ठाउँबाट बाहिरिनेको संख्या ३ लाख १८ हजार ६ सय ४९ पुगेको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी नायब महानिरीक्षक (डीआईजी) भरतबहादुर बोहोराले पछिल्लो ७ दिनमा नागढुङ्गा नाकाबाट मात्र २ लाख ८२ हजार ८ सय ८ जना उपत्यकाबाट बाहिरिएको बताए। उनले अन्य नाका भएर पनि यात्रुहरू बाहिरिने क्रम बढिरहेको बताए। घटस्थापनादेखि नै अधिकांश विद्यालय, कलेज र संघसंस्था बन्द भएपछि दशैं मनाउन गाउँ फर्किनेको संख्या बढ्दै गइरहेको छ। त्यसै गरी हवाई मार्गबाट बाहिरिनेको संख्या १ लाख पुगेको पाइएको छ ।

सोमबारमात्रै नागढुंगा नाकाबाट ४२ हजार ३ सय ८५ जना बाहिरिएका थिए । त्यसै गरी ट्राफिक प्रहरीले उपत्यकाबाट बाहिरिने यात्रुको सहजताका लागि काठमाडौं उपत्यकाभित्रका १५ स्थानमा यात्रु सहायता कक्ष सञ्चालन गरेको छ । चाडपर्वमा यातायात सहजताका लागि काठमाडौं उपत्यकाभित्र १ हजार ८ सय जना ट्राफिक प्रहरी परिचालन गरिएको उपत्यका ट्राफिक प्रहरीले जनाएको छ ।

उपत्यका प्रहरी कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यले अघिल्लो वर्षमा उपत्यका छोड्ने यति बेला १० लाखको हाराहारीमा हुनेमा यस वर्ष बाढीले बाटो बिगारेका कारण बाहिरिनेको संख्या कम भएको बताए । काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्कमा पनि घर जाने यात्रुको भीड बढ्दै गइरहेको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले अग्रिम टिकट बन्द गरेको छ ।

त्यसै गरी महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले अहिलेको अवस्था हेर्दा विगतका वर्षभन्दा धेरै यात्रु बाहिरिने अनुमान रहे पनि बाटोको अवस्था कमजोर भएका कारण यात्रु बाहिरिनेको संख्या कम भएको बताए । यात्रुलाई सहज रूपमा गन्तव्यस्थल पु¥याउने काम सवारीहरूले गरिरहेको र यात्रुले पनि चालक सहचालकलाई मैत्रीपूर्ण व्यवहार गरी यात्रा गर्न आग्रह गरे ।