३० आश्विन २०८१, बुधबार 1729098394
Banner

व्यापारीको सहयोगमा पार्टी कार्यालय बनाउने कदम गलत : बिन्दा पाण्डे

काठमाडौं । नेकपा एमाले स्थायी कमिटी सदस्य बिन्दा पाण्डेले भाटभटेनी समूहका अध्यक्ष मीनबहादुर गुरुङले पार्टी कार्यालय बनाइदिने भनी गरिएको शिलान्यासले साढे ५ लाख सदस्यको शिर झुकाएको भन्दै उक्त निर्णय सच्याउन आग्रह गरेकी छन् ।

कीर्तिपुरमा एमाले केन्द्रीय कार्यालय भवन व्यवसायीबाट निर्माण गराउने कुरा भविष्यमा पार्टीका लागि आत्मघाती हुने चेतावनी समेत उनले दिएकी छन् ।

सोमबार सामाजिक सञ्जाल फेसबुकमा पाण्डेले भवन बनाउने कदमले पाँच लाख पार्टी सदस्य २८ लाख मतदाताको अपमान भएको स्पस्ट पारेकी हुन्।

‘साढे पाँच लाख पार्टी सदस्यको स्वाभिमानी शिर झुकाउने र २८ लाख मतदाताको अपमान गर्ने कदम हो यो । व्यापार व्यवसाय गर्नेले पारदर्शी रुपमा कम्पनीको सामाजिक दायित्व अन्तर्गत सामाजिक काममा सहयोग गर्नु कर्तव्य नै हो । तर, राजनीतिक दलले कार्यालय बनाउन यस्तो सहयोग लिनु र व्यापारीले दिनु दुवै गलत हो’, पाण्डेले लेखेकी छन् ‘दिनेले किन र कसरी दिए उनैलाई थाहा होला । तर, स्वीकार गर्नेले पार्टीको निर्णायक तहमा छलफल र निर्णय त परको कुरा जानकारी समेत नहुने गरी गरिएको यो निर्णय दिर्घकालमा आत्मघाती सावित हुनेछ । समय घर्की सकेको छैन । मनमोहन र मदनहरुले उँचो बनाएको पार्टीको इतिहास, वर्तमानमा वाचेका स्वाभिमानी पार्टी पङ्क्ति र भावी सन्ततीका लागि एमालेको गौरव जोगाउने हो भने यो गलत निर्णय सच्याउनैपर्छ । समयमै सोचौँ ।’