३० आश्विन २०८१, बुधबार 1729108934
Banner

सेयर बजार वृद्धिले पायो निरन्तरता, ५ अर्ब ६६ करोडको कारोबार

काठमाडौँ । दसैँ बिदापछिको दोस्रो दिन पनि सेयर बजार परिसूचक नेप्सेको वृद्धिले निरन्तरता पाएको छ । बुधबार बजार परिसूचक ४३.२२ अंकले बढेको हो । यो वृद्धिसँगै बजार परिसूचक २७४२.८८ विन्दुमा पुगेको छ ।

आजको बजार खुलेदेखि नै सकारात्मक अवस्थामा रहे पनि परिसूचकमा उतारचढाव भने देखिएको थियो । यो उतारचढावसँगै खरिदबिक्री बढ्दा कारोबार रकम ५ अर्ब ६६ करोड पुगेको छ । आज बजारमा १ करोड ३२ लाख कित्ता शेयर कारोबार भएको छ ।

बजारमा आज २४४ कम्पनीको कारोबार भएकोमा २०६ कम्पनीको सेयर मूल्य बढेको छ । ३५ कम्पनीको मूल्य घट्दा तीनवटा कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । आज कारोबार भएका कम्पनीमध्ये अपर स्याङ्जा हाइड्रोपावरको मूल्यमा नकारात्मक सर्किट लागेको छ भने विजय लघुवित्त र इष्टर्न हाइड्रोपावरको मूल्य ९ प्रतिशत भन्दा धेरैले बढेको छ ।

आज बजार अन्तर्गत सबै परिसूचक र उपसूचकमा वृद्धि भएको छ । सबैभन्दा धेरै वृद्धि व्यापारमूलक सूचकमा ३.४४ प्रतिशतले भएको छ । हाइड्रोपावर उपसूचक पनि आज २.१३ प्रतिशतले बढेको छ । मंगलबार सबैभन्दा धेरै बढेको फाइनान्स समूह भने आज सुस्ताएको छ । यो उपसूचकमा ०.८६ प्रतिशतको वृद्धि देखिएको छ ।

बजारमा आज सबैभन्दा धेरै कारोबार नेपाल फाइनान्स र हिमालयन रिइन्स्योरेन्सको १५–१५ करोडको भयो । कारोबार भोल्युम आधारमा हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट डेभलपमेन्ट कम्पनी सबैभन्दा माथि रह्यो । कारोबार सङ्ख्याको आधारमा हिमालयन रिइन्स्योरेन्स नै सबैभन्दा उच्च रह्यो ।